डिग्रे मेलाको रमझम

रुकुम (पश्चिम) : मन्दिर दर्शनका लागि साथै मेला भर्न विभिन्न ठाउँबाट आएका हजारौं दर्शनार्थीको भिडभाडलाई छिचोल्दै स्थानीय सखाल लाठीसहित मेला पसेसँगै रुकुमको प्रसिद्ध डिग्रे शाइकुमारी भगवतीको मन्दिर परिसरमा लाग्ने पाँच दिने मेला शुक्रबार सकिएको छ।

पश्चिम रुकुम अन्तरग पर्ने ६ नम्बर प्रदेशको एक प्रमुख धार्मिक स्थल मध्ये पर्ने डिग्रे शाइकुमारी मन्दिर परिसरमा हरेक वर्ष हरिबोधनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म लाग्ने डिग्रे मेला स्थानीयले लाठी घुमाएर परिकर्मा गरेपछि मेला सम्पन्न हुने चलन छ।

लगातार पाँच दिनसम्म लागेको यस मेलामा मन्दिर दर्शन, मेला भर्न साथै पुजाआजाका लागि धन्नै एक लाख बढी दर्शनार्थी आएको मेला व्यवस्थापन समितिले जनाएको छ। शनिबार मेलाको अन्तिम दिन मात्रै करिब ५० हजार बढीले मेलाको दर्शन गरेका छन्। मेलामा लाखौंको व्यापार भएको छ।

स्थानीय कला-संस्कृती र नाच-गानसंगै स्थानीय परम्पराको अनुपम संगमको रुपमा रहेको यो मेला भर्न र मन्दिर दर्शन गर्न रुकुम (पश्चिम-पूर्व)का स्थानीयसँगै छिमेकी जिल्ला रोल्पा, डोल्पा, सल्यान, जाजरकोट, प्युठान, दाङ्ग, सुर्खेत, बाँकेबाट समेत हजारौं दर्शनार्थी पुग्ने गरेका छन्।

मनोकामना प्राप्तिका लागि र आफ्नो भाकल पूरा भएकोमा कृतज्ञ हुँदै यहाँ हरेक वर्ष बोकाको बलीसमेत दिने गरिन्छ। मेलाको पहिलो दिनदेखि अन्तिम दिनसम्म मन्दिर परिसरमा बली दिने चलन भएपनि अन्य  समयमा पनि मन्दिरमा बली चढाउने गरेको पाइन्छ।

बली दिन ल्याएका बोकाको टाउँको मन्दिरका तर्फबाट बिक्री गर्ने गरेका कारण मेलाको मुख्य आम्दनीको रुपमा यो रहने गरेको छ। मन्दिरमा भेटी स्वरुप चढ्ने दक्षिणा र मेला स्थालमा होटल-पसल गरे वापत आउने रकम पनि अम्दनीको रुपमा रहने शाइकुमारी भगवती मन्दिर व्यवस्थापन, पर्यटन तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष लालबहादुर केसीले बताए।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रकाशित मितिः ८ मंसिर २०७५, शनिबार ०४:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *