बद्री पन्त
जाजरकोट १०, फागुन
कुशे गाउँपालिका ५, ढिमे, दम्दाला र खुर्पामा नाचिने पौरानिक खाँडो नाँच झाँदेउ देवताको नाममा नाँचिने निकै चर्चित नाँच हो ।
हातमा ढाल तरवार लिएर दमाहाको तालमा नाँचिने खाँडो नाँच भब्य लडाईको तयारी भैरहेको वा लडाई जितेर लडाईकै मोर्चामा विजयी नाँच नाँचिरहेको जस्तो दर्शकहरुले अनुभुती गरिने नाँच हो । यो नाच लोप हुदै गएको पाईन्छ ।
बुधवार कुशे गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेत खाँडो नाँच्न हातमा ढाल, तरवार लिएर ढल्की–ढल्की नाँचेपछि मन्चमा उपस्थित भएका दर्सकहरुले गडगडाड तालिपिट्दै अध्यक्ष तिरै हेरेर रमाए । यो अबसर जुटाइ दिएको थियो डिभिजन वन कार्यालय जाजरकोटले ।
वन कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को संघीय सरकारवाट हस्तानतरित सशर्त कार्यक्रम अनुसार सँस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत खाडो नृत्य संरक्षण एवम संवद्र्धनका लागि वन कार्यालयबाट आयोजना गरीएको साँस्कृतिक सामान वितरण कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष बस्नेतले सँस्कृति रहे हामी रहन्छौं हामी रहे संस्कृति रहन्छ भन्दै यसको लागि सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्छ भन्नु भयो ।
गाउँपालिका भित्र रहेका खाँडो लगाएत स्थानीय कला साँस्कृति सँरक्षण तथा जर्गेना गर्न आफुले कुनै कसर बाँकी नराख्ने कुरा बस्नेतले बताउनु भयो । ढिमेको खाँडो संरक्षण गर्न डिभिजन वन कार्यालयले महत्व पुर्ण योगदान दिएको भन्दै उच्च प्रसंसा बस्नेतले गर्नु भयो ।
गाउँपालिकाबाट खाँडो संरक्षणका लागि यो वर्ष २ लाख रकम वजेट विनियोजन गरेको छ अध्यक्ष बस्नेतले भन्नु भयो । आफ्नो कार्यकालमा प्रत्येक बर्ष १÷१ लाख रकम विनियोजन गर्ने समेत स्थानीयलाई जानकारी गराउनु भयो ।
त्यसैगरी नेपाली काँगे्रस कुशेका सभापति दलबहादुर थापाले स्थानीय कला संस्कृति संरक्षण गर्न युवा पुस्ता अग्रसर हुनु पर्ने बताउनु भयो । ५ बर्षको एक पटक पुस पूर्णिमाको दिन झाँदेउ मेलामा विशेष गरी खाँडो नाच नाचिने भएको हुदा संरक्षण गर्न गाउँपालिकाबाट विशेष जोड दिनु पर्ने थापाले बताउनु भयो । यसैगरी नेकपा जिल्ला कमिटी सदस्य नरबहादुर मल्लले खाँडो संरक्षणमा वन कार्यालयको सहयोगले थप टेवा पुग्ने धारणा राख्नु भएको थियो ।
यो खाँडो संरक्षण गर्न गाउँ स्थानीय युवा पुस्ता जागरुप हुनु पर्ने मल्लले बताउनु भयो । नेता मल्लले वनको सानो सहयोगबाट खाँडो संरक्षण गर्न ठुलो टेवा पुगेको धारणा राख्नु भयो ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालय जाजकोटका डिभिजन प्रमुख मंजुर अहमदले वन कार्यालयले वन संरक्षण संगै स्थानीय कला साँस्कृति संरक्षणमा जोड दिने बताउनु भएको थियो । स्थानीय कला साँस्कृति लोप हुदै गइरएको स्थानीयले बताइ रहेको वेला डिभिजन वन कार्यालयबाट कला संस्कृति सम्बन्धि सामग्री उपलब्ध गराएको प्रमुख अहमदले बताउनु भयो । वनको सहयोग पाएपछि स्थानीय पनि दंग परेका थिए । वन कार्यालयबाट कुशे ५ को झाँदेवी युवा क्लव ढिमे र छेडागाड नगरपालिका ११ को नव ज्योती संस्कृति पैसेरी क्लव झाप्रालाई साँस्कृतिक सामान वितरण गरिएको थियो ।
कुशे ५ को झाँदेवी युवा क्लव ढिमेलाई दमाह २ थान, झ्याली १ थान, ढाल १२ थान, तरवार १२ थान, सुरुवाल १३ थान, कोट १३ थान, ढाकाटोपी १३ थान र दौरा १३ थान तथा छेडागाड नगरपालिका ११ को नव ज्योती संस्कृति पैसेरी क्लव झाप्रालाई मादल २ थान, नेवर ८ थान, सर्ट १५ थान, मैनधोती १५ थान, कोट १५ थान, ढाकाटोपी १५ थान, खन्जनी २ थान र खैजडी १ थान लगाएतको सामान वितरण गरिएको डिभिजन प्रमुख अहमदले जानकारी दिनु भयो । सामान वितरण कार्यक्रममा ६ सय बढी स्थानीयबासीको सहभागिता रहेको थियो ।
के हो त झाँदेउ पुजा
पुजारीले पुजा गर्नु एक दिन पहिले कपाल देखि आँखीभौंसम्म विलेटले फालेर शिरमा कात्रो बाँधेर खाली पेट बस्नु पर्ने परम्परा रहिआएको पुजारी बीरे मल्लले जानकारी दिनु भयो । बारेकोट गाउँपालिका अन्तरगत पर्ने ताँसीको धुपी, रग्र्यामको निकांलो, बाँसको सुपो, सल्लाको टुपो अनिवार्य प्रयोग गरिनु पर्ने देवताका पुजारी मल्लको भनाई छ ।
साथै देवताको नाममा जाँडको ठाँ लगाउनु पर्ने, चल्ला काटेर रगत चढाउनु पर्ने, साँढको मुटू झिकेर मंन्दीरमा चढाउनु पर्ने, गोरुको साँढे छोड्नु पर्ने, ढाँल तरवार हातमा लिएर खाँडो नाँच नाँच्नु पर्ने, देवताका धामीसंग चो भाई खेल्नु पर्ने पुजारी मल्लको भनाई रहेको छ । पुजा गर्ने पुजारी देवता आफैले छानौट गर्दै आएको देवताका जानकार दिपबहादुर थापाले बताउनु भयो । हरेक पूजारीले झाँदेउको एक पूजा भन्दा अर्को पुजा लगाउन (पाँच बर्ष वित्न) नपाउदै पूजारीको मृत्यु भईहाल्ने अघिल्लो पुस्तामा भएता पनि हालका पूजारी बीरे मल्ल पुजारी भएको झण्डै ७५ वर्ष वितिसकेको छ तर, पुजारी जीवित नै छन् । पाँच बर्षमा एक पटक पुजा गरिने झाँदेउ मेलाको पुजा पुजारी मल्लले आफ्नो जीवन कालमा १५ पटक गरि सकेको वताउनु भयो । ८१ बर्षिय पुजारी बीरे मल्लले पहिलो पुजा ८ बर्षको उम्मेरमा गरेको वताउनु भयो ।
लामाहरुको देवता
मुगूवाट ढिमे बसाई–सराई गरेका लामा(भोटे)हरुले झाँदेउलाई मान्दै आएको वडा अध्यक्ष लक्ष्मण सिंहले बताउनु भयो । झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा (भोटे)हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा(भोट)ेको राजासंग मित लगाएको हाल ढिमेका मल्लहरुको वंशावलीमा उल्लेख गरिएको छ ।
गोतामकोटका गौरव मल्ल दोश्रो–तेश्रो पटक शिकार खेल्न ढिमे आई पुग्दा ढिमेको जग्गा, जमिन, वनजंगल राजा मल्लले मनपराए आफ्नै मित लामा(भोटे) राजासंग लडाई लड्ने योजना वनाएको सिंहको भनाई रहेको छ । दुई सय बर्ष पहिले गौरव मल्लले कायमैदेका कयाल टमट्टा, दामाचौरका दामे ढोली, गोतामकोटका गोतामे सार्की र गिठाकोटका बाहुँनलाई साथमा ल्याएर लामा (भोटे) मितसंगको लडाई जितेर सिङ्गै ढिमेको गाउँलाई कब्जा गरेपछि लामाहरुको देवतालाई हाल ४ गाउँका नागरिकहरुले कुलदेवताका रुपमा मान्नु पर्ने अबस्था श्रृजना भएको अध्यक्ष सिंहले बताउनु भयो ।
पंञ्चवर्षिय रुपमा मनाईउदै आएको झाँदेउलाई भान्जलाई काँटेर मान्छेको भोग चढाउनु पर्ने परम्परा लामा(भोटे)हरुकै पाला देखि चल्दै आएको चलन भएको स्थानीय पत्रकार डिल्ली थापाले बताउनु भयो । गौरब मल्लको पालामा भान्जलाई काँटेर मान्छेको भोग चढाउने प्रचलनको अन्त्य गरि साँढको मुटु झिकेर देवताको मन्दिरमा चढाउने चलनको सुरुवात भएको थापाले वताउनु भयो । देवताको नाममा गोरुको साँढे छोड्नु पर्ने प्रचलन पनि गौरब मल्लकै पाला देखि सुरु गरिएको हो ।
समयको बिकासक्रमसंगै पुजा गर्ने प्रचलनको परिमार्जन हुदै आईरहेको छ । आगामी दिनमा गाउँमा महिलाहरु र युवाहरुको छुट्टाछुट्टै टीम बनाएर नियमित रुपमा खाँडो नाँच्ने व्यवस्था मिलाउने वडा अध्यक्ष सिंहले जानकारी दिनु भयो । घरायसी कामको बोझले महिलाहरुलाई खाँडो नाँच्न फुर्सद नभएता पनि पुरुष सरह नाँच्न सकिने स्थानीय निर्मला थापाको भनाई रहेको छ ।