मुसल पर्वसँगै रारा महोत्सव

सुर्खेत — आफ्नो कर्तव्य के हो भन्ने भुलेका र आफ्नो खुसी नै सबैको खुसी हो भन्ने भावना बोकेका केही पात्र उत्सव मनाउन स्रोतसाधनको जोहो गर्न हिँडिरहेका छन् । उनीहरूको साधुसँग जम्का भेट हुन्छ । साधुलाई उनीहरू लुट्न खोज्छन् । ‘मसँग लुट्नलाई केही छैन, म महर्षि व्यास हुँ,’ साधु भन्छन्, ‘तिमीहरू आफ्नै मान र अभिमानका कारण विनाश हुनेछौ ।’

कथा अघि बढ्दै जान्छ । महर्षिको चेतावनीबाट लुटेराहरू सचेत हुँदैनन्, बरु भाग्छन् । साधुले लुटेरालाई भगवान् कृष्णका सन्तानको रूपमा चित्रित गर्छन् । महाभारतको मुसल पर्वमा कृष्णलाई उनकै सन्तान साम्वलगायत पात्रले मन्दिरमा बन्दी बनाउँछन् र सत्ता हत्याउँछन् । मञ्चमा यही दृश्य दोहोरिन्छ । र, कथा सत्ता–संघर्षसँग जोडिन्छ ।

मुसल पर्वमा कृष्णका सन्तान आपसमा लडेर स्वाहा हुन्छन् । नेतृत्वमा समयमै समझदारी बढेन भने त्यस्तै घटना दोहोरिन्छ । कथाले जोडदार रूपमा यही सन्देश प्रवाह गर्छ । सांस्कृतिक संस्थानको आयोजनामा बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु साताव्यापी रारा राष्ट्रिय नाटक महोत्सवको पहिलो नाटक थियो, मुसल पर्व ।

आरंग नेपाल, सुर्खेतको प्रस्तुति रहेको नाटक यसअघि पनि राष्ट्रिय प्रतियोगितामा पुरस्कृत भइसकेको छ । ‘नाटकले पौराणिक कथालाई देखाएर नेपालमा लामो समयदेखि चल्दै आएको राजनीतिक खिचातानीलाई व्यंग्य गरेको छ,’ महोत्सवमा सहभागी वीरेन्द्रनगरका रितेश सारुले भने, ‘यसबाट पाठ सिक्न सकियो झने सबैको लागि राम्रो हुनसक्छ ।’

गणेश गौतमको लेखन/निर्देशन रहेको नाटकमा गौतमका साथै प्रेमदेव गिरी, केशव ढकाल, भानुभक्त अधिकारी, प्रकाश पौडेल, उत्तम शर्मा, नवराज खराल, युवराज आचार्यलगायतले अभिनय गरेका छन् । लामो समयदेखि नाट्य क्षेक्रमा सत्रिय गौतम मोफसलमा रहेर पनि रहरले नाट्यकर्म गरिरहेको बताउँछन् । ‘हाम्रो पेसा एउटा छ, रहर अर्को छ,’ उनी भन्छन्, ‘बचेको समय हामी नाटक गर्छौं, सम्भावना सीमित छन्, तैपनि नाटक गरिरहेका छौं ।’

७ प्रदेशका १३ नाटक

बुधबारसम्म चल्ने नाटक महोत्सवमा सातवटै प्रदेशका नाटक समावेश छन् । प्रायः सबै नाटकले सामाजिक कथा बोकेका छन् । प्रदेश १ बाट सोलुखुम्बु नाट्य समूहको ‘आरन’ र मानवअधिकार मञ्च इलामको ‘म पहिलो सन्तान किसान जन्माउँछु’, प्रदेश २ बाट श्रीगढीमाई नाट्य कला केन्द्र बाराको ‘दहेज आ दारु’, प्रदेश ३ बाट साइलेन्ट एक्ट काठमाडौंको ‘जिउँदो आकाश’ र ङ समूह काठमाडौंको ‘एक बोली एक दाम’, गण्डकी प्रदेशबाट युथ क्रिएसन पोखराको ‘घेरो’ र मञ्जरी नाट्य समूह लमजुङको ‘नौगेडी’, प्रदेश ५ बाट शान्तिका लागि युवा सञ्जाल बर्दियाको ‘हिटवा’, कर्णाली प्रदेशबाट आरंग नेपाल सुर्खेतको ‘मुसल पर्व’, कर्णाली कला प्रतिष्ठान सुर्खेतको ‘आमाको सपना’ र कर्णाली खस संस्कृति मञ्च जुम्लाको ‘फडो’ तथा सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको ‘श्रीमान् वीरबहादुर’ नाटक रहेका छन् ।

आयोजक संस्थाका वरिष्ठ नाट्य प्रबन्धक प्रभाकर शर्माले करिब ५० लाख रुपैयाँ लागतमा नाटक महोत्सव आयोजना गरिएको बताए । नाटकमा सहभागी कलाकारलाई यातायात, आवास तथा भोजनको व्यवस्था गरिएको उनले जानकारी दिए । आरंग नेपाल सुर्खेत स्थानीय आयोजक रहेको महोत्सवमा कर्णाली प्रदेश सरकारका साथै सुर्खेतका सबै स्थानीय तहले सहयोग गरेका छन् । महोत्सवको अवसरमा विभिन्न ९ वटा शीर्षकमा नाट्य विमर्श गरिने स्थानीय आयोजक संस्थाकी माया थापाले जानकारी दिइन् ।

नाटकघरको खाँचो

नाटकघरको अभावमा अहिले राष्ट्रिय स्तरको नाटक महोत्सव नेपाल प्रहरीको टेबुलटेनिस हलमा चलिरहेको छ । यस्तो अवस्थामा कार्यक्रममा सहभागीले सुर्खेतमा नाटकघरको खाँचो रहेको बताए ।

महोत्सव उद्घाटन गर्न आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेशस्तरीय नाटकघरको आवश्यकता मात्र औंल्याएनन्, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश सरकारका तर्फबाट यसको निर्माण गर्न आग्रह पनि गरे । ‘यसको सुरुवात गर्न संघीय सरकारको मुख ताक्नै पर्दैन, प्रदेश सरकार आफैंले पहल गर्‍यो भने सम्भव छ,’ उनले भने, ‘सुर्खेतजस्तो ठाउँमा नाटकघर बन्यो भने यसले कला क्षेत्रलाई टेवा पुर्‍याउनेछ ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश कला संस्कृतिमा धनी रहेको बताउँदै यसको विकासका लागि क्रमिक रूपमा योजना बनाएर काम गर्ने बताए । नाटकघर नहुँदा कलाकारले पनि सास्ती भोग्दै आएका छन् । ‘हामीसँग नाटकघर छैन, कलाकारको आकर्षण बीचमै तुहिन्छ, निरन्तरता छैन,’ उनले भने, ‘तैपनि हामी नाटक गरिरहेका छौं ।’ कान्तिपुरबाट

२०७५ फाल्गनु २४ गते

प्रकाशित मितिः २४ फाल्गुन २०७५, शुक्रबार १२:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *