तरकारीले धनी, धनबहादुर

तरकारी बेचेरै वार्षिक ३ लाख आम्दानी ! कालिकोट, खाँडाचक्र नगरपालिका–५, तेस्रोबजारका धनबहादुर कार्की यो लोभलाग्दो आम्दानीका धनी बनेका छन् । तीन वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लागेका उनी जिल्लाकै नमूना किसानसमेत हुन् ।
उनी तीन रोपनी बारीमा वर्षैभरि काँक्रा, फर्सी, टमाटर, काउली, खुर्सानीलगायत बेमौसमी तरकारी फलाउँछन् । तरकारी बेचेरै उनले गाउँमा दुईतले पक्की घर बनाउनुको साथै छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन् । वार्षिक करिब एक लाख रुपैयाँ बचतसमेत गरिरहेका छन् । ‘तरकारी खेती गर्न थालेपछि आत्मविश्वास बढेको छ,’ उनी भन्छन्, ‘जीवनस्तर पनि व्यवस्थित बन्दै गएको छ ।’


तरकारी खेतीमा लाग्नुअघि उनी आर्थिक जोहो गर्न कालापहाड (भारत) जान्थे । कालापहाडको कमाइले वर्षभरि खान पुग्दैनथ्यो । अहिले भने घरमै बसिबसी बर्षभरि पुग्ने जोहो भइरहेको छ । कार्की उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका निजी सेवा प्रदायकसमेत हुन् । १२ कक्षासम्म पढेका उनी आयोजनाले निजी सेवा प्रदायक बनाएर समूह, सहकारी र किसानसँग सम्वन्ध जोडेपछि काम गर्न निकै सजिलो भएको बताउँछन् । उनले अन्य किसानलाई ब्याड बनाउने, बेर्ना सार्ने, रोगकीरा नियन्त्रण गर्ने, गोडमेल गर्नेजस्ता काममा सल्लाह दिँदै आएका छन् ‘एकातिर आपूmले सिकेको सीप अरुलाई सिकाइरहेको छु, अर्कोतिर आम्दानी पनि भइरहेको छ,’ उनले भने, ‘यो व्यवसायमा लागेर घाटा भन्ने छँदैछैन, जताततै फाइदैफाइदा छ ।’
कार्की तेस्रोबजारमा रहेको फूलबारी कृषक समूहका सचिवसमेत हुन् । आयोजनाले समूहमार्पmत सिँचाइ पोखरी, प्लास्टिक घर निर्माणदेखि कृषकलाई तरकारी बजारीकरणमा समेत सहयोग गरेको छ । तेस्रोबजार क्लस्टर अन्तर्गत पर्ने विभिन्न समुह र सहकारी मार्फत किसानलाई आयोजनाले व्यावसायिक तरकारी खेतीका लागि एक करोड २५ लाख ७४ हजार रुपैयाँ अनुदान सहयोग गरेको उनले बताए ।

प्रकाशित मितिः १३ मंसिर २०७५, बिहीबार ०५:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *