टिप्न रोकिएपछि बहुमूल्य जडीबुटी यार्सागुम्बाले पुनर्जीवन पाउने आशा

चौध वर्षदेखि यार्सागुम्बा टिप्दै आएका डोल्पाका देवराज थापा बर्सेनि यो बहुमूल्य जडीबुटीको उपलब्धता घट्दै गएको बताउँछन्।

उनी भन्छन्, “दश वर्ष अघिसम्म मौसमैपिच्छे १६/१७ सय यार्सागुम्बा टिप्थेँ। आजकल डेढ-दुई सय पाउन पनि मुस्किल पर्छ।”

विज्ञहरू अध्ययन-अनुसन्धानबाट जथाभाबी सङ्कलन र जलवायु परिवर्तन यार्सागुम्बा घट्नुको प्रमुख कारण रहेको पाइएको बताउँछन्।

उनीहरूले एक वर्षको फरकमा टिप्दा यार्सागुम्बा कम नहुने बताइरहँदा कोरोनाभाइरसका कारण यो वर्ष सबै जिल्लाका स्थानीय प्रशासनले यार्सागुम्बा टिप्न रोक लगाएको छ।

के कोरोनाभाइरसको प्रकोपले हिमाली जडीबुटीलाई पुनर्जीवन दिन्छ त?

बर्सेनि कम हुनुको कारण

डोल्पाका पाटनमा यार्सा टिप्दै आएका जाजरकोटका देवबहादुर रावल पनि बर्सेनि यार्सागुम्बा घटिरहेको सुनाउँछन्।

यार्सागुम्बा सङ्कलन घट्न थालेपछि आम्दानीको मुख्य स्रोत गुम्न सक्ने भन्दै पहाडी र हिमाली भेगका बासिन्दा चिन्तित छन्।

यार्सागुम्बासम्बन्धी विभिन्न अध्ययन-अनुसन्धानले पनि पाटनमा यार्सागुम्बा घट्दो क्रममा रहेको देखाएका छन्।

विज्ञहरू १० वर्षयता जथाभाबी सङ्कलन र जलवायु परिवर्तनका कारण यार्सागुम्बा कम हुँदै गएको बताउँछन्।

एक दशकदेखि यार्सागुम्बा अध्ययन गरिरहेका डा. उत्तमबाबु श्रेष्ठ भन्छन्, “दश वर्षअघि एकजनाले २६० यार्सागुम्बा टिप्ने गरेकोमा त्यो सङ्ख्या आधामा झरेको छ। कतिपय पाटनमा यार्सागुम्बा नै पाइन छोडेको छ।”

बहुमुल्य जडिवुटी यार्सा संकलनको लागि गतवर्ष डोल्पाका पाटन पुगेका सर्वसाधारण

जलवायु परिवर्तनले गर्दा पाटनमा लामो समय हिउँ नरहने र त्यसको असर उत्पादनमा परेको उनीहरूको भनाइ छ।

बीउ नै मासिने गरी सङ्कलन गर्दा पनि यार्सागुम्बा मासिँदै गएको उनीहरू बताउँछन्।

‘पालो गरेर टिप्नुपर्छ’

यार्सागुम्बाको जीवनचक्र पुतलीको लार्भा र ढुसीबाट पूरा हुने भएकोले एक वर्ष सङ्कलन नगर्दा अर्को वर्ष वृद्धि हुने अध्ययनबाट देखिएको छ।

डा. श्रेष्ठका अनुसार डोल्पामा गरेको एउटा अध्ययनमा ढुसी परिपक्व भएर बिजनहरू माटोमा झर्न ३५ देखि ३८ दिन लागेको देखिएको छ।

तर त्यो समयभन्दा अघि नै यार्सागुम्बा टिप्दा बिजन झर्न नपाएर उत्पादनमा असर परेको उनले बताए।

एक वर्ष सङ्कलन नगर्दा बिजन र लार्भाको सङ्ख्या बढ्ने र यार्सागुम्बामा पनि वृद्धि हुने उनको भनाइ छ।

कोदालोको प्रयोग पनि कारण

यार्सागुम्बा टिप्न कोदालोको प्रयोग गर्दा माटोको स्वरुप बिग्रिएर यार्सागुम्बा घटेको छ वर्षदेखि अनुसन्धान गरिरहेका कृष्णराज धितालले बताए।

धितालले भने, “एक वर्ष रोकेर अर्को वर्ष टिप्ने व्यवस्था मिलाउने हो भने घट्ने दर रोकिन्छ।”

यार्सागुम्बा संरक्षणको लागि सबैभन्दा उत्तम माध्यम एक वर्षको फरकमा गरिने ‘रोटेसनल हार्भेस्टिङ’ भएको अध्ययनकर्ताहरू बताइरहँदा पनि सङ्कलन रोकिएको थिएन।

कोरोनाभाइरसले दिएको अवसर

कोरोनाभाइरसको महामारीले गर्दा यो वर्ष सबै जिल्लाका स्थानीय प्रशासनले यार्सागुम्बा टिप्न रोक लगाएका छन्।

अध्ययनकर्ता सन्जिव पौडेल भन्छन्, “यो महामारीले रोटेसनल हार्भेस्टिङको राम्रो अवसर सिर्जना गरेको छ। अर्को वर्ष पाटनमा यार्सागुम्बाको सङ्ख्या बढ्छ।”

यार्सागुम्बामा विद्यावारिधि गरेका डा. श्रेष्ठ पनि कोरोनोभाइरसले रोटेसनल हार्भेस्टिङसम्बन्धी विस्तृत अध्ययन गर्ने अवसर दिएको दाबी गर्छन्।

डा. श्रेष्ठ भन्छन्, “यार्सागुम्बा पाइने सबैतिर एकैपटक रोक्नुभन्दा पाटन छनौट गरेर पालैपालो टिप्ने र नटिप्ने व्यवस्था मिलाउनु पर्छ।”

बहुमुल्य जडिवुटी यार्सा संकलनको लागि गतवर्ष डोल्पाका पाटन पुगेका सर्वसाधारण

उत्पादन घट्दै, माग र मूल्य बढ्दै

सन् १९९० को दशकतिर यार्सागुम्बाको मागसँगै मूल्य पनि ह्वातै बढेको विज्ञहरू बताउँछन्।

समयमै संरक्षणको उचित पहल नगरे यार्सागुम्बा लोप भएर जाने खतरा रहेको पनि उनीहरू औल्याउँछन्।

जाजरकोटकी हिमाली बिष्ट यार्सागुम्बामा निर्भर मान्छेलाई आयआर्जनको वैकल्पिक व्यवस्था गर्न सके यार्सागुम्बा संरक्षण हुने बताउँछिन्।

बहुमुल्य जडिवुटी यार्सा संकलनको लागि गतवर्ष डोल्पाका पाटन पुगेका सर्वसाधारण

आम्दानीको मुख्य स्रोत

यार्सागुम्बा सङ्कलन गर्न बर्सेनि पाटन पुग्नेहरूको आम्दानीको ७५ प्रतिशतसम्म स्रोत यार्सागुम्बा रहने गरेको बताइन्छ।

डोल्पा, मुगु, हुम्ला, दार्चुला, म्याग्दी, रुकुम, जुम्ला, मनाङ, गोरखा, सिन्धुपाल्चोक, बझाङ, संखुवासभा र रसुवा जिल्लाका पाटन पुगेर प्रत्येक वर्ष वैशाखदेखि असारसम्म हजारौँ मानिसले यार्सागुम्बा टिप्ने गर्छन्।

एउटा परिवारका ४-५ जना पाटन जाने र उनीहरूले कम्तीमा १०-१२ लाख रुपैयाँसम्म कमाएर वर्षभरिको खर्च जुटाउँदै आएको डोल्पाकी रामकुमारी शाही बताउँछिन्।

उनी भन्छिन्, “यार्सागुम्बा नासियो भने हजारौँ परिवारले आम्दानी गुमाउँछन्। एक वर्ष रोक्ने र अर्को बर्ष खोल्ने व्यवस्था गरे यार्सा जोगिन्छ।”

जीवनस्तरमा सुधार्ने जडीबुटी

छ वर्षअघि नेपाल राष्ट्र ब्याङ्कले यार्सागुम्बा पाइने ११ जिल्लामा गरेको अध्ययन अनुसार नेपालमा चार अर्ब ९२ करोड रुपैयाँको यार्सागुम्बा सङ्कलन हुन्छ।

यार्सागुम्बाको उक्त आम्दानी पूर्वी नेपालमा उत्पादन हुने अलैँचीको सोही वर्षमा भएको चार अर्ब २६ करोड रुपैयाँको तुलनामा बढी हो।

समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटरसम्मको उचाइमा औषधिजन्य गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ ।

यार्सागुम्बाले निम्न आयस्तर भएका मान्छेको आयस्तर वृद्धिसँगै जीवनस्तर सुधारमा पनि सहयोग पुर्याउँदै आएको ७-८ वर्षदेखि यार्सागुम्बा टिप्दै आएकी सुनिता केसी बताउँछिन् ।(बीबीसीबाट )

प्रकाशित मितिः ६ जेष्ठ २०७७, मंगलवार ११:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *