नेपाल: एकै दिन सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण पुष्टि

नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।

यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए।

मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ।

डा. देवकोटाले भने, “आजका सबै सङ्क्रमितहरू हामीलाई जानकारी प्राप्त भए अनुसार क्वारन्टीनमै रहनुभएको छ।”

नेपालमा सङ्क्रमितमध्ये ९० जना महिला र ७९६ जना पुरुष भएको उनले बताएका छन्।

बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ५५ लाख नाघेको छ।

विश्वभर मृत्यु हुनेको सङ्ख्या तीन लाख ४८ हजारभन्दा बढी छ।

कहाँका हुन् नयाँ सङ्क्रमित?

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितहरू रौतहटका ३६ जना, झापाका १७ जना, बाँकेका १६ जना, दाङका १५ जना र सप्तरीका ११ जना रहेका छन्।

त्यस्तै बाराका ७ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका ३ जना, सिरहाका २ जना र मकवानपुरका १ जनाको पनि बुधवार सङ्क्रमण पुष्टि भएको हो।

डा. देवकोटाले गएको २४ घण्टामा ३,५८० जनाको पीसीआर परीक्षण र २,३२० जनाको आरडीटी परीक्षण गरिएको बताए।

अहिलेसम्म नेपालमा पीसीआरबाट ५८,२७७ जना गरी १५८,५६४ जनाको कोरोनाभाइरस परीक्षण भएको मन्त्रालयको तथ्याङ्क छ।

प्रदेश अनुसार सङ्क्रमित कति?

डा. देवकोटामा अनुसार प्रदेश नं १ मा १०३ जना, प्रदेश नं २ मा ३२४ जना, वागमती प्रदेशमा ३९ जना र गण्डकी प्रदेशमा १३ जना रहेका छन्।

सबैभन्दा धेरै सङ्क्रमित प्रदेश नं ५ मा ३६५ जना रहेका छन् भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमश: २५ र १७ जना रहेका छन्।

निको हुनेहरूमा सबैभन्दा बढी प्रदेश नं २ मा ९७ जना रहेका छन्। तीमध्ये २८ जना गत २४ घण्टामा डिस्चार्ज भएका डा. देवकोटाले बताए।(बीबीसीबाट)

प्रकाशित मितिः १५ जेष्ठ २०७७, बिहीबार ०४:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *