आरडीटी पोजेटिभ देखिएकालाई भैंसी गोठमा राखियो

दैलेखको भैरवी गाउँपालिकाले क्वारेन्टिनमा राखिएका चार जनामा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि उनीहरुलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको छ। चिकित्सकको निगरानीमा रहनुपर्ने उनीहरु शनिबार दिउँसोदेखि भेंसी गोठमा छन्। १० दिनअघि भारतबाट आएका उनीहरुलाई भैरवी गाउँपालिका–३ को देउती आधारभुत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो।

शनिबार आरडीटी परीक्षणका क्रममा क्वारेन्टिनमा राखिएका मध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो। त्यसलगत्तै गाउँपालिकाले प्रहरी लगाएर उनीहरुलाई स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा लगेर राखेको थियो। भैंसी गोठमा राखिएकाहरुलाई गाउँपालिकाले ओछ्याउनका लागि पि–फर्म मात्रै दिएको छ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए। ‘क्वारेन्टिनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेका हौं,’ अध्यक्ष बुढाले भने, ‘आइतबार बैठक बसेर कहाँ राख्ने भन्ने निर्णय गछौं।’

गाउँपालिकाले आरडीटी पोजेटिभ आएका नागरिकहरुलाई भैंसी बाँध्ने गोठमा राखेको भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको छ। गोठमा राखिएदेखि उनीहरुको स्वास्थ्य अवस्था बुझ्न पनि कोही नगएको एक स्थानीयले बताए। नागरिक दैनिकबाट

 

प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार १३:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *