पदम केसी
जाजरकोट,
नलगाड नगरपालिका–४, प्यारघाराका बासिन्दाले खाने पानी चर्को समस्या भोग्दै आएका छन् ।
नजिकमा पानीका मूल नहुँदा उनीहरु बाह्रै महिना आकाशबाट आएको पानी पिउन बाध्य भएको बताउँछन् ।
उनीहरु पानी ल्याउन जान आउन २ घन्टा लाग्ने भएकोले पोखरीमा जमेको फोहोर पानी खान बाध्य भएका छन् ।
गाउँमा १३ घरपरिवार बस्छन् । हिउँदको समयमा निकै नै समस्या हुने गरेको स्थानीय भक्त बहादुर सार्किले बताए ।
बस्तीदेखि धेरै तल रहेको कुवामा पानी भर्ने क्रममा सधै गाउँले वीच भनाभन हुने गरको पनि उनले बताए ।
बर्षाको समयमा पानी फोहोर हुने भएकोले सरुवा रोगको डर निकै नै लाग्ने गाउँलेहरु बताउँछन् ।
उनीहरु भन्छन्, स्वच्छ खाने पानीको धारा पुर्र्याइदिन्छु भन्ने जनप्रतिनिधीहरु अहिले मुसो झै दुलोमा लुकेर बसेका छन।
पानीको सास्ती भोग्दै आएका गाउँलेहरु पानी कहिले आउँला खाउला भन्ने आसमा बसेका छन।
खानेपानी लिन कुवा धाउनु परेपछि समय पनि बर्बाद हुने गरेको बिष्णुमाया सार्की बताउँछिन् ।
पानी ल्याउन दुर्ई घन्टा हिड्नु पर्दा धेरै काममा बाधा पर्ने उनको भनाई छ ।
पानी घरमा पुगेको भए समयको पनि बचत हुने र कुनै तरकारी खेती गर्न पनि सहज हुने गाउँलेहरु बताउँछन् ।
उनीहरु भन्छन्, जनप्रतिनिधिहरु चुनाबमा मत माग्न आएर पानीको योजना पारिदिन्छु भनेर ढाँचे चुनाव जितेर गएको तीन वर्षसम्म पनि फर्केर आएनन् ।
खानेपानीको समस्या समाधान गरि दिन सवैसँग हारगुहार गदै आएका उनीहरु आफुहरुको समस्यालाई वेवास्था नगर्न चुनौति दिन्छन् ।