जसले सुर्खेतका विद्यालयहरूलाई हराभरा बनाइरहेका छन्

  • प्रकाश पन्त
  • बीबीसी न्यूज नेपाली

तीन वर्षअघिसम्म उजाड सुर्खेत वीरेन्द्रनगरको सरस्वती प्राथमिक विद्यालय अहिले बगैँचा र बिरुवाले गर्दा सफा, सुन्दर र हराभरा देखिन्छ।

तीन दशकभन्दा पुरानो सरस्वती मात्रै होइन सुर्खेत उपत्यकाभित्रका कैयौँ विद्यालयमा अहिले यस्तै दृश्य देख्न सकिन्छ।

यो परिवर्तनको केन्द्रमा शारीरिक अपाङ्गता भएका वीरेन्द्रनगरका २९ वर्षीय किरणकिशोर सापकोटा छन् जसले विद्यालयहरूलाई हराभरा बनाउने अभियान चलाएका छन्।

आमाको बचत रकमबाट आउने ब्याज खर्च गरेर उनले विद्यालयहरूमा सदाबहार हरियो भइरहने फूल र वृक्षहरू रोपिरहेका छन्।

हरित एवम् सफा विद्यालय

पोलियोका कारण सानैदेखि हिँडडुल गर्न नसक्ने उनले व्यक्तिगत खर्चमा विद्यालयमा बिरुवा रोप्ने, बगैँचा बनाउने र सरसफाइ गर्दै आएका छन्।

सापकोटाले तीन वर्षदेखि माई ‘ग्रीन एण्ड क्लिन स्कुल’ अभियान चलाएर वर्षामा झारपातले ढाकिने गरेका र हिउँदमा लगभग उजाड देखिने गरेका विद्यालयहरूलाई हराभरा बनाएका हुन्।

सरकारी विद्यालयमा देखिएको दुरावस्थाले आफूलाई बिरुवा रोप्न र बगैँचा बनाउन प्रेरित गरेको उनी बताउँछन्।

सापकोटाले भने, “सरकारी विद्यालय परिसर कतै गाईबस्तु चराउने त कतै दुर्व्यसनीहरू जमघट हुने थलो बनेको देखेपछि बिरुवा रोप्न र बगैँचा बनाउन थालेको हुँ।”

एउटा विद्यालयमा बगैँचा बनाउन कम्तीमा ३५,००० रुपैयाँ खर्च लाग्ने गरेको उनी बताउँछन्। उनको काममा शिक्षक, विद्यार्थी र साथीहरूले सघाइरहेका छन्।

संरक्षण गर्न मुस्किल

बिरुवा लगाउने र बगैँचा बनाउने भन्दा त्यसको संरक्षण गर्न निकै मुस्किल भइरहेको उनी गुनासो गर्छन्।

उनले भने, “बिरुवा र जालीहरू चोरी हुन थालेपछि समस्या भइरहेको छ। कतिपय शिक्षकले किन दु:ख गर्नु हुन्छ बिरुवा चोरी हुन्छ र मेहनत खेर जान्छ भन्नुहुन्छ। तर मनले मान्दैन। जतिपटक चोरी हुन्छ, त्यतिपल्ट बिरुवा रोपिहाल्छु।”

उनले आफूले बनाएका बगैँचामा रोपिएका बिरुवा चोरिएपछि सात पटकसम्म रोपेको अनुभव सुनाए।

आफ्नी स्वर्गीय आमाको खाताको रकमबाट प्राप्त हुने ब्याजबाट आफूले विद्यालयहरूलाई हराभरा चलाउने अभियान चलाएको उनी बताउँछन्।

बिरुवादेखि संरक्षणको लागि तारजाली, ईट्टा र बाँस उनले आफै किन्ने गरेका छन्। बिरुवालाई पानी हाल्न, गोडमेल गर्न र मल हाल्न पनि उनी आफै जाने गर्छन्।

महिनैपिच्छे बिरुवा किनेर लगाउन खर्च नपुग्ने भएपछि सापकोटाले घरमै बिरुवा उत्पादन गर्न थालेका छन्।

सरसहयोग र साथ

सापकोटा आफ्नो प्रयासबाट विद्यालयहरू हराभरा भएको देख्दा आत्मसन्तुष्टि पाउने गरेको बताउँछन्।

“विद्यार्थी-शिक्षकले संरक्षणमा साथ दिइरहेका छन्”, उनी भन्छन्, “यदि उहाँहरूले साथ नदिने हो भने बिरुवा जोगाउन र बगैँचा संरक्षण गर्नै मुस्किल हुन्थ्यो।”

चार वर्षअघि उनले आमा गुमाएका थिए। आमाले आफ्नो नाममा राखिदिएको झन्डै १० लाख रुपैयाँको ब्याजबाट गर्ने कार्यमा श्रीमती, बुवा र दाईहरूले पनि सघाइरहेको उनी बताउँछन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत उनले अपाङ्गता छात्रवृत्तिबाट प्रत्येक वर्ष झन्डै ३०,००० रुपैयाँ पाउँछन्।

त्यो रकम पनि आफूले बिरुवा र बगैँचामै खर्चिने गरेको उनी बताउँछन्।

सानो प्रयासको सकारात्मक परिणाम

बोटबिरुवा, बगैँचा र फूलबारीले विद्यालयमा हरितमैत्री वातावरण निर्माण हुने र त्यसले बालबालिकाको सिकाइलाई सहयोग गर्ने बताइन्छ।

तर थोरैमात्रै विद्यालयमा हरितमैत्री वातावरण छ।

सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुवर्ण गिरी भन्छन्, “स्थापना भएको तीन दशकमा पहिलो पटक विद्यालय परिसरमा बिरुवा र बगैँचा लगाउने काम भएको छ।”

दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा बगैँचा बनाएर हरभरा बन्न सघाएका सापकोटा चाहिँ आफ्नो सानो प्रयासले सकारात्मक परिणाम दिइरहेको ठान्छन्।

उनको कामबाट प्रेरित भएर पछिल्लो समय सुर्खेतका कतिपय निजी विद्यालयले बगैँचा बनाउने काम थालेको बताएका छन्। (बीबीसीबाट)

प्रकाशित मितिः १ भाद्र २०७७, सोमबार ०९:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *