लेकबहादुर नेपाली
नलगाड, जाजरकोट
भोक विरुद्ध सहायता अभियान अन्र्तगत जाजरकोटको नलगाड नगरपालिकाका ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जीवन रुपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीको पहलमा संकलन गरिएको उक्त खाद्यान्न अति विपन्न दलित र अन्य परिवारलाई प्रदान गरिएको हो ।

नलगाडको कालिमाटीमा भएको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक कोर्डिनेटर टीकाराम चपाई, एरिया नम्वर -६ का एरिया चिफ हरिहर बस्नेत, जोन चियर पर्सन भद्र भण्डारी, सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख धनबहादुर बिष्ट, वडा नम्वर ५ का वडाध्यक्ष केशवप्रसाद शर्मा, समाजसेवी मोहन विक,सामाजिक अभियन्ता बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्त लगायतले प्रति परिवारलाई २५ केजी चामल र ५ केजी दाल प्रदान गरेका हुन ।

कार्यक्रममा एरिया चिफ हरिहर बस्नेतले लाइन्स डिस्टक ३२५ बीटु, लाइन्स क्लव अफ नेपालगंजको आर्थिक सहयोगमा र कर्णाली क्षेत्रका लाइन्स क्लवहरुको सक्रियतामा जाजरकोटबासीको लागि खाद्य सामाग्री सहयोग गरिएको बताए ।

उनले सामाजिक अभियन्ता नरबहादुर कार्कीले कोभिड–१९ र बाढी पहिरोले समस्यामा परेका जाजरकोटबासीलाई सहयोग गर्न राष्ट्रिय रुपमा गरेको आव्हान, समन्वय र सहकार्यको लागि मुक्तकष्ठले प्रशंसा पनि गरे ।

बस्नेतले डिस्ट्रिक गर्भनर शंम्भू नकर्मीले एक लाख र नेपालगंज क्षेत्रका लाइन्सहरुले ५० हजार रुपैया उपलव्ध गराएकोमा धन्यवाद पनि दिए ।

नलगाड नगरपालिकाको साथै शिवालय, जुनीचाँदे, कुशे गाउँपालिकाका, छेडागाड र भेरी नगरपालिकाका विपन्न परिवारलाई खाद्यन्न हस्तान्तरण गरिएको विपद सरोकार समितिका संयोजक राजेन्द्र विक्रम शाहले बताए ।
अतिविपन्न जाजरकोटबासीका लागि सामाजिक अभियन्ता नरबहादुर कार्कीले संचालन गरेको यो अभियानमा लाइन्स क्लव, डिस होमलगायतका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।
खाद्यान्न पाएका व्यक्तिहरुले संकटको बेला आफुहरुको लागि खाद्यान्नको लागि पहल गर्ने सामाजिक अभियन्ता कार्की र सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गरे ।