बद्री पन्त
जाजरकोट जाजरकोटको बारेकोट गाउँपालिकाले गाउँपालिकाको भवन सहित ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ ।
भवन निर्माण भएपछि पालिका र वडालाई दैनिक सेवा प्रवाह गर्न सहज भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
गाउँपालिकाको केन्द्र लिम्सामा १ करोड ५० लाख लागतमा गाउँपालिकाको भवन निर्माण गरेको शाहले भन्नु भयो ।
वडा नम्बर १ को रामीडाडा, ३ को मुलसाम, ४ को सार्कीटोल, ६ को घर्तीगाउँ, ७ को स्याला र ९ को सक्लामा वडा कार्यालय भवन निर्माण भएका छन् भने वडा नम्बर २, ५ र ८ को वडा भवन निर्माणको काम भइ रहेको अध्यक्ष शाहको भनाई छ ।
तीन बर्षदेखि स्थानीयको घर भाडामा लिएर दैनिक कामकाज सन्चालन गर्दै आएको बारेकोटले अहिले आफ्नै भवनबाट दैनिक सेवा दिन थालेको छ ।
भवन बनेपछि सहजता आउनुको साथै स्थानीयलाई सहज सुविधा पुगेको अध्यक्ष शाहले जानकारी दिनु भयो ।
आफ्नै भवन बनेपछि अहिले धेरै सहज भएको वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त शाहीले बताउनु भयो ।
जाजरकोटका अधिकांस स्थानीय तहले भाडाकै घरबाट सेवा दिदै आएका छन् ।