सुर्खेत
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले माघी सक्रान्तिको अवसरमा कर्णाली गजल उत्सव गरेको छ ।

उत्सवमा चर्चित गजलकारहरु ऋषि शर्मा सुदामा, धिरेन अनुपम, सरस्वति पन्त, सीता यरी, पहल असिम, कृष्ण विरही, भरत प्रमोद दाहाल, महेश के भट्टराई, पुनम धमला र ज्ञानेन्द्र बहादुर सिंहले विभिन्न विषयका ४-४ वटा गजल वाचन गरेका थिए ।

विद्यार्थी समिक्षा नेपाल, नरेन्द्र बुढा, रिता कठायत र नविन पाण्डेका साथै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले पनि गजल वाचन गरेका थिए ।

उनीहरुले जीवनका सुख, दुःखका कथा, राजनैतिक व्यंग्य, प्रेम, सामाजिक यथार्थता जस्ता विषयमा दमदार गजलहरु प्रस्तुत गरिरहदा दर्शकहरु भने निकै रमाएका थिए ।

गजलकारहरुले गजल वाचन गर्न थालेपछि उनीहरुले पररर ताली बजाउँदै बेलाबेलामा वान्स मोर भन्ने गरेका थिए । साँझ ७ बजेबाट आरम्भ भएर राति ११ बजे सकिएको कार्यक्रम चिसो मौसममा पनि निकै रौनकपूर्ण बनेको थियो ।

गैर साहित्यिक व्यक्तिहरुलाई पनि साहित्यको रस आश्वादन गराउन गजल उत्सव गरिएको विद्यालयका प्राचार्य जगदीश ढकालले बताए ।

रसिलो गजल वाचन गदै उनले भने, साहित्य समाजको ऐना मात्र नभएर समाज परिवर्तनको सूचक पनि भएकोले हरेक व्यक्तिसम्म साहित्य पुग्न जरुरी हुन्छ ।
उत्सवका प्रमुख अथिती साहित्यकार एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले केही गजल र कविताहरु वाचन गदै एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले नेपालमै उदाहरणीय गजल कार्यक्रम गरेको बताए ।

लामो समयसम्म रेडियो नेपाल सुर्खेतमा काम गरेको स्मरण गदै उनले सुर्खेत आफूलाई मामाघर आएको जस्तै महसुस हुने उल्लेख गरे ।

यस्तै वीेरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नीलकण्ठ खनालले विद्यालयले सँधै विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै पृथक खालका कार्यक्रम गर्ने गरेकोमा खुशी व्यक्त गरे ।

उत्सवका सहभागीहरुले कार्यक्रम निकै व्यवस्थीत, भव्य र उत्कृष्ट भएको प्रतिक्रिया दिए । कार्यक्रममा अभिभावक, सरकारी कार्यालय, विभिन्न संघ संस्था, क्याम्पसका क्याम्पस प्रमुखहरु, विद्यालयका प्राचार्यहरु, समाजसेवीहरु, बुद्धिजीवीहरुलगायत २०० जनाको सहभागीता रहेको थियो ।
गजल कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा गजलकार महेन्द्र चन्द ‘महासागर’ ले गरेका थिए ।