डाक्टर, इन्जिनियर र पाइलट बनाउँदै कर्णालीका स्थानीय सरकार

  • प्रकाश पन्त
  • बीबीसी न्यूज नेपाली

कुशे गाउँपालिका जाजरकोटकी जोत्सना कार्की अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढिरहेकी छन्।

शुल्क तिरेर एमबीबीएस पढ्न नाम निकालेपछि उनी गाउँपालिकाकै खर्चमा पढिरहेकी छिन्।

“प्रवेश परीक्षामा पटक-पटक नाम निकाले पनि रकम अभावले पहिला एमबीबीएस पढ्न भर्ना हुन सकिनँ”, उनी भन्छिन्, “तर अहिले गाउँपालिकाको सहयोगमा पढ्ने सपना पूरा हुँदैछ।”

कुशे गाउँपालिकाले प्रथम अध्यक्ष छात्रवृत्ति कोषमार्फत् जोत्सनालाई एमबीबीएस अध्ययनको लागि ३८ लाख रुपैयाँ सहयोग गरेको छ।

सपना साकार

गाउँको आकाश भएर डोल्पा आउने -जाने जहाज देख्दा सानैदेखि जहाज चलाउने सपना देखेका पश्चिम रुकुमका गोविन्द केसी पनि आठबीसकोट नगरपालिकाले पाइलट बन्ने सपना साकार पारिदिएको बताउँछन्।

“घरको आर्थिक अवस्थाले गर्दा पाइलट हुँला भन्ने सोचेकै थिइनँ”, केसी भन्छन्, “तर कहिलेकाही नसोचेको पनि पूरा हुँदो रहेछ।”

फिलिपिन्सबाट पाइलट पढेर भर्खरै फर्किएका उनलाई नगरपालिकाले ५० लाख रुपैयाँ शैक्षिक कर्जा दिएर पाइलट पढ्न सघाएको थियो।

दुई जनालाई पाइलट पढन सघाएको आठबीसकोट नगरपालिकाले अरू १७-१८ जनालाई विभिन्न प्राविधिक विषय पनि पढाइरहेको बताएको छ।

जाजरकोटको कुशे गाउँपालिका र पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाले जस्तै कर्णालीका अरू केही स्थानीय सरकारले पनि गरिब तथा विपन्न परिवारका जेहेन्दार छोराछोरीलाई डाक्टर, इन्जिनियर र चार्टर्ड अकाउन्टेन्ट सीए पढाइरहेका छन्।

फिलिपिन्सबाट पाइलट पढेर फर्किंएका पश्चिम रुकुमका गोविन्द केसी र ललित भण्डारी। तस्वीर गोविन्द केसी

विपन्नलाई अवसर

छात्रवृत्ति सहयोग र शैक्षिक कर्जाजस्ता कार्यक्रम बनाएर स्टाफ नर्स, सिभिल ओभरसियर, कृषिजस्ता प्राविधिक शिक्षा अध्ययन गर्न पनि स्थानीय सरकारले आर्थिक सहयोग गरिरहेका छन्।

स्थानीय सरकारले पढाइ खर्च बेहोरे पनि खाने र बस्ने खर्च भने विद्यार्थी आफैले गरिरहेको बताउँछन्।

आफ्नो स्थानीय तहको स्थायी बासिन्दा, सामुदायिक विद्यालयमा अध्ययन गरेको, प्रवेश परीक्षामा नाम निकालेका अति विपन्न, गरिब, दलित एकल महिलाका जेहेन्दार छोराछोरीलाई उनीहरूले चाहेको विषय पढाइरहेको स्थानीय तहका प्रमुखहरू बताउँछन्।

स्थानीय सरकारको सहयोगमा आफूले चाहेको विषय अध्ययन गर्न पाउँदा सम्बन्धित तहका जेहेन्दार विद्यार्थीहरू पनि खुशी नै छन्।

छायानाथ रारा नगरपालिकाको सहयोगमा काठमाण्डूमा सीए पढिरहेका मुगुका शिवराज बिक नगरपालिकाले आफूलाई रुचिको विषय पढ्ने अवसर दिएर अघि बढ्ने आँट दिएको बताउँछन्।

विपन्न दलित परिवारका उनी भन्छन्, “नगरपालिकाले आर्थिक सहयोग नगरेको भए सीए पढने सपना अधुरै रहन्थ्यो।”

दलित तथा अतिविपन्न परिवारका दुई जनालाई बाङ्लादेशमा डाक्टर पढाइरहेको छायानाथ रारा नगरपालिकाले ५० प्रतिशत आर्थिक सहयोगमा एक जनालाई इन्जिनियर, र अरू १०-१२ जनालाई विभिन्न प्राविधिक विषय पढ्न आर्थिक सहयोग गरिरहेको जनाएको छ।

शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन पूर्वाधार विकासलाई भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगरप्रमुख हरिजंग शाही बताउँछन्।

उनी भन्छन्, “मुगुमा डाक्टर आउनै मान्दैनन्। आएपनि धेरै समय बस्दैनन्। यस्तो समस्या सदाका लागि अन्त्य गर्न नगरपालिकाले गाउँकै नागरिकलाई डाक्टर पढाएको हो।”

आर्थिक अभावकै कारण अब गरिव तथा विपन्न नागरिकका जेहेन्दार छोराछोरीहरू डाक्टर, इन्जिनियर, सीए वन्ने अवसरबाट वञ्चित नहुने समेत उनको दावी छ।

छायानाथ रारा नगरपालिकाको सहयोगमा बाङ्लादेशमा डेन्टल डाक्टर पढिरहेका देवीकृष्ण विश्वकर्मा नगरपालिका आफुहरू जस्ता विपन्न विद्यार्थीको लागि मेरुदण्ड भएको बताउँछन्।

“नगरपालिकाले सहयोग नगरेको भए हामी उठन पनि सक्ने थिएनौँ”, उनी भन्छन्,।

बंगलादेशमा डेन्टल डाक्टर पढिरहेका मुगुका देवीकृष्ण विश्वकर्मा

खटाएको ठाउँमा अनिवार्य सेवा

छात्रवृत्ति कोष स्थापना गरेका स्थानीय तहले विद्यार्थी पढाउनको लागि बर्सेनि १० देखि २५ लाख रुपैयाँसम्म छुट्याउने गरेका छन्।

छात्रवृत्ति कोषमा बर्सेनि २५ लाख रुपैयाँ विनियोजन गरिरहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत पुल्चोक इन्जिनियरीङ क्याम्पस र पाटन अस्पतालसँग समझदारी गरेर डाक्टर र इन्जिनियर पढने व्यवस्था मिलाएको बताउँछन्।

उनी भन्छन्, “आर्थिक समस्याले गर्दा कुशे गाउँपालिकाका कुनैपनि जेहेन्दार विद्यार्थीको डाक्टर वा इन्जिनियर बन्ने सपना अधुरो हुन दिँदैनौँ।”

पढाइ सकिएपछि सम्बन्धित विद्यार्थीले कम्तीमा पनि तीन वर्ष स्थानीय सरकारले खटाएको ठाउँमा गएर अनिवार्य जनताको सेवा गर्नुपर्ने सर्त राखिएको छ।

अभिभावकलाई राहत

पढाइमा अब्बल भए पनि आर्थिक अभावले आफ्ना छोराछोरीलाई पढाउन नसक्ने अभिभावकहरू भने स्थानीय सरकारको सहयोगले आफुहरूलाई ठूलो राहत भएको उल्लेख गर्छन्।

पाटन अस्पतालमा एमबीबीएस अध्ययरत जोत्सना कार्कीकी आमा सुधा छोरीको डाक्टर बन्ने सपना पूरा गरिदिएर गाउँपालिकाले ठूलो गुण लगाएको बताउँछिन्।

“छोरीको डाक्टर नै पढ्ने चाहाना थियो। तर हाम्रो आर्थिक अवस्थाले भ्याउँदैन्थ्यो।”

“पढ्न नाम निकाले पनि आर्थिक अभावले भर्ना गर्न सकेका थिएनौँ “, उनी भन्छिन्, “छोरीको चाहाना पूरा गर्न नसक्दा एकदमै चिन्तामा परेको बेला गाउँपालिकाबाट नसोकेकै सहयोग भयो। त्यसैले एकदमै खुशी छौँ।”

दैनिक ज्यालादारीको काम गरेर जीविकोपार्जन गदै आइरहेकी बाङ्लादेशमा डेन्टल डाक्टर पढिरहेका देवीकृष्णकी आमा काली कहिल्यै नदेखेको सपना पूरा हुँदा चकित छिन्।

उनी भन्छिन्, “राम्रोसँग खान त पाउँदैनौँ, छोरालाई कसरी डाक्टर पढाउने थियौँ र? अब छोराले हाम्रो जस्तो दुःखका दिनहरू बिताउनु पर्दैन होला।”

कतिले सम्पूर्ण खर्च, केहीले आशिंक खर्च बेहोरेका छन् भने कतिपय स्थानीय सरकार आफै जमानी बसेर पढनको लागि ऋणको व्यवस्था गरेका छन्।

आठबीसकोट नगरपालिका जमानी बसेपछि गाउँकै एक सहकारीले पाइलट पढ्न गोविन्द केसी र ललित भण्डारीलाई विना व्याजमा ५०-५० लाख रुपैयाँ शैक्षिक कर्जा दिएको थियो।

जहाज उडाउने तर्खरमा रहेका गोविन्द केसीले पाइलट पढन लिएको ऋण जागिर खाएपछि तिर्ने सोचमा रहेको बताए। (बीबीसीबाट साभार)

प्रकाशित मितिः २८ माघ २०७७, बुधबार ०५:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *