टुकमाया घर्ती
जाजरकोट
पानीको लागि निकै दुःख भोग्दै आएका भेरी नगरपालिका–१२ बिष्णेचौरमा स्थानीयवासी डिप बोरिङ निर्माण पछि खुसी भएका हुन् ।
बिष्णेचौरमा पानी पुगेपछि उनीहरुको दैनिकी फेरिएको छ ।
घर नजिकै पानी आएपछि व्यक्तिगत सरसफाइ, महिनावारीको बेला दुई घन्टा हिडेर भेरी नदीको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको महिलाहरु बताउँछन् ।
भेरी नदीको पानी प्रयोग गर्दै आएका स्थानीयवासीले लिस्नोको प्रयोग गर्थे ।
दुई घन्टाको बाटो हिडेर पानी ल्याउने गरेको बताउने धनसरा शाही ज्यानै जोखिममा मोलेर पानी ल्याउनु पर्ने बाध्यता हटेको उल्लेख गर्छिन् ।
साना बालबालिकालाई जोखिम थियो, अर्की महिला रुपा विक भन्छिन, अब पिउने पानीको लागि नदी जानुपर्ने दुःख हटेको छ ।
मानिसका साथै पशुचौपायलाई पनि पानी खुवाउन सजिलो भएको छ ।
बर्षाै देखि पानीको अभाव झेल्दै आएका बिष्णेचौरमा कृषि विकास कार्यालय जाजरकोटले ३५ लाख रुपैयाँको लागतमा डिप बोरिङ निर्माण गरेको हो ।
बोरिङबाट ३५ हेक्टर जग्गामा सिचाइ हुनुका साथै ३७ घरधुरीलाई खानेपानी उपलव्ध भएको कृषि बिकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।