माया पन्त
जाजरकोट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सदरमुकाम खलंगाको विभिन्न ठाउँबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने औषधी र जाँड तथा भाँडा बर्तन बरामत गरिएको छ ।
प्रहरीले शनिबार संकास्पद स्थानहरुमा छापा मार्दा एक हजार ३ सय लिटर जाँड, पाँच सय लिटर रक्सी र ९० केजी जाँड बनाउन प्रयोग गरिने कच्चा पर्दार्थ औषधी फेला परेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताउनु भयो ।
साथै रक्सी बनाउन प्रयोग गरिने भाँडा बर्तन समेत बरामत गरिएको उहाँले भन्नु भयो । उक्त सवै मदिरा र मदिराजन्य पदार्थ स्थानियको रोहवरमा नष्ट गरिएको छ ।
पहिलो पटक भएकोले मदिरा उत्पादन तथा विक्रिवितरण गर्नेलाई सम्झाईवुझाई गरि छाडिएको र फेरी फेला परे कानुन बमोजिम कारवाही गरिने प्रहरी निरीक्षक पाण्डेको भनाई छ ।
गाँउघरमै घरेलु मदिरा उत्पादन गरेर विक्रिवितरण गर्दा चोरी, हत्या, हिंसा र बलत्कार जस्ता अपराधिक गतिविधि बढ्ने भएकोले यसलाई नियन्त्रणका लागि मदिरा नष्ट गर्ने अभियान थालिएको पाण्डेको भनाइ छ ।