बद्री पन्त
जाजरकोट
जाजरकोटको भेरी नगरपालिका २, होलुखोला स्थित तिनगार साङटामा झोलुङ्गे पुल निर्माण भएको छ ।
पुल निर्माण पछि दुई गाउँको सम्बन्ध नजिकीएको छ । खोलामा पुल बनेपछि स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको वडा अध्यक्ष कालिबहादुर ओलीले बताउनु भयो ।
शताब्दी पछि पुल बनेको हो, उहाँले भन्नु भयो । पुल नहुदा हैरानी खेपेका स्थानीय भने अहिले निकै हर्षित भएका छन् । पुल निर्माणले दुई गाउँका बासिन्दालाई छिटो छरीतो आवजावतमा सहज भएको छ ।
यसबाट घाँस दाउँरा ल्याउन र विद्यार्थीलाई विद्यालय जानाआउन राहत पुगेको स्यालाका चित्रबहादुर ओलीले बताउनु भएको छ ।
पुल निर्माण पछि स्थानीय बासिन्दालाई घण्टौं पैदल हिडेर खलंगा बजार आउनजान लामो दुरी घटेको र अहिले पुल बनेपछि आवतजावत गर्न सहज भएको ओलीको भनाइ छ ।
बषौं देखि काठे पुल प्रयोग गरेका स्थानीय अहिले भने विगतको वाध्यता अन्त्य भएको बताउछन । पुल निर्माण पछि स्थानीयहरु विच भौगोलिक दुरीले मात्रै नभएर भाइचारा र छिमेकको सम्बन्ध नजिकीएको छ ।
पुल निर्माण पछि भेरी २ को स्याला, रिसाङ्ख, डउरी काँडा, घोरनेटा, मैदे, कोलचौर, रावतगाउँ लगाएत गाउँका अधिकांश बासिन्दा लाभान्वित भएका छन् ।
भेरी नगरपालिकाको ५३ लाख ७८ हजार सात सय ८० रुपैया लागतमा निर्माण भएको हो ।
उक्त पुल एक सय मिटर लामो छ । यसबाट दुई सय तिन घर परिवारलाई टेवा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलवीर रोकायले जानकारी दिनु भएको छ ।