बद्री पन्त
जाजरकोट
चाडपर्व नजिदै गरेपछि जाजरकोटमा चहलपहल सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा यात्रुहरूको सहजताको लागि यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।
विजयादशमी, दीपावली लगायतका चाडपर्वका समयमा यात्रुहरूलाई आवश्यक सहयोगका यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
बसपार्क, बजार क्षेत्रका टिकट, काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रुहरु ठगिने, कार्यलाई नियन्त्रण र नागरिकका पिर मर्का तत्काल सुनुवाई गर्ने उद्देश्यका साथ जिल्लामा यो कक्षले टेवा पुग्ने देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको खलंगा शान्तिचौतारास्थित बसपार्क, सुर्खेत जाजरकोट सिमाना छेडाचौर, थलह, दल्ली, बारेकोट लगाएत यातायात सन्चालन भएका स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र शसस्त्र प्रहरी रहने गरी व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सुरक्षासम्बन्धी चुनौती नआओस् र यात्रुहरुलाई गन्तव्यमा पुग्न सहायता कक्षले सहयोग गर्ने बताउनु भयो ।
मानिसहरुको आवातजावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने भएकोले यसबाट यात्रुहरुको समस्या समाधानका लागि टेवा पुग्ने देखिएको छ ।
नागरिक वा यात्रुहरुलाई कुनै पनि समस्या परे अथवा गुनासोको लागि कार्यालय सम्पर्क नम्बर ०८९–४३००१२ र कार्यालय.प्रमुखको मोबाइल नम्बरमा –९८४३१६५६९९ फोन गर्न सकिने जनाएको छ ।
यातायात व्यवसायीहरुले व्यवसायी सेवा भन्दा यात्रु मैत्री सेवामा जोड दिनुपर्ने भेरी नगरपालकिा ४ वडा अध्यक्ष खम्बजंग शाहले बताउनु भयो ।
चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यात्रुहरू ठगिने तथा सडक दुर्घटना न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाको भनाइ छ ।
जाजरकोटबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौंसम्म दिवा तथा रात्रि सेवाका बस सञ्चालन हुने गरेका छन । भने जिल्लासहित ग्रामीण र छोटो दूरीमा यातायात सेवा सञ्चालन हुने गरेको छ ।