सुर्खेत
कांग्रेसको १४ महाधिवशेन अन्तर्गत भएका कर्णाली प्रदेशका निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा संस्थापन समुहले वर्चश्व कायम गरेको छ ।
सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले सुर्खेत र हुम्ला जिल्लामा क्लीन स्वीप गरेका छन् ।
कर्णाली प्रदेशबाट अहिलेसम्म निर्वाचित भएका ३१२ जना महाधिवेसन प्रतिनिधी मध्ये संस्थापन पक्षका १८७ र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका ९८ जना रहेको काँग्रेस स्रोतले जनाएको छ ।
कुन जिल्लामा कसका कति ?
संस्थापन पक्षका सुर्खेतमा ५०, दैलेखमा १२, जाजरकोटमा २०, सल्यानमा २२, कालिकोटमा १६, मुगुमा १७ , हुम्ला २६, डोल्पामा १५ र जुम्लाबाट ८ महाधिवेसन प्रतिनिधी आएका छन् ।
यस्तै पौडेल पक्षका सुर्खेत र हुम्लामा एक जना पनि छैन भने दैलेखमा ३९ जना, जाजरकोटमा ६ जना, सल्यानमा ५ जना, कालिकोटमा १० जना, मुगुमा ९ जना, डोल्पामा १० जना र जुम्लाबाट १८ जना महाधिवेसन प्रतिनिधी आएका छन् ।
पश्चिम रुकुमबाट भने कुन समुहका कति महाधिवेसन प्रतिनिधी आए भन्ने एकीन हुन सकेको छैन् ।
केन्द्रीय महाधिवेसन प्रतिनिधीमा जस्तै प्रदेश प्रतिनिधीमा पनि आफ्नो समुह हावी रहेको देउवा समुहका नेता कार्यकर्ता दावी गर्छन् ।
कर्णाली प्रदेशका जिल्ला सभापतिमा पनि संस्थापन समुह हावी देखिएको छ ।
१३ औ महाधिवेसनको परिणाम उल्ट्याउँदै देउवा समुहले १० मध्ये अहिलेसम्म ७ जिल्लामा सभापति जितेको छ ।
जाजरकोटका वेदराज सिंह, सल्यानका केशबहादुर विष्ट, जुम्लाका कर्णबहादुर शाही, पश्चिम रुकुमका प्रेमप्रकाश ओली, मुगुका ऐनबहादुर शाही, डोल्पाका दिपेन्द्रबहादुर शाही, हुम्लाका मोहनबिक्रम सिंह देउवा समुहका हुन ।
कालिकोटका अम्बबहादुर शाही पौडेल समुहका हुन । सुर्खेत र दैलेख जिल्लामा निर्वाचन हुन वाकी छ ।

सुर्खेतमा देउवा समुहको आउने निश्चित छ भने दैलेखमा जो कोही समुहले पनि सभापति जित्न सक्छ ।
यस्तै कर्णालीका पालिकामा पनि देउवा पक्ष नै बलियो देखिएको छ ।
७९ वटा पालिका मध्ये झण्डै ५० भन्दा बढी पालिकाका सभापति देउवा समुहका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीको महत्वपूर्ण भुमिकाको कारण यो पटक कर्णाली प्रदेशमा देउवा विचार समुह निकै बलियो अवस्थामा पुगेको काँग्रेसका नेता कार्यकर्ता बताउँछन् ।
सुर्खेत, जुम्ला, दैलेख, सल्यानजस्ता जिल्लामा आम निर्वाचनको झल्को दिने गरी दुवै पक्ष चुनावी मैदानमा होमिएका थिए ।
समुह परिवर्तन
जाजरकोटबाट निर्वाचित सभापति वेदराज सिंहले विचार समुह परिवर्तन गरेका छन् ।
पौडेल पक्षका उनी जिल्ला सभापति भएसँगै देउवा समुहमा आएका छन् ।
काँग्रेस विभाजन हुँदा नेपाली काँग्रेस प्रजातान्त्रिकमा लागेका उनी पार्टी एकीकरणपछि देउवा समुहबाट टाढिएका थिए ।
तर पछिल्लो परिस्थीतिले आफुलाई फेरी पहिलेकै समुहमा फर्काएको सभापति सिंहले बताए ।
जाजरकोट काँग्रेसका लोकप्रिय युवा नेता सिंहलाई आफ्नो समुहमा ल्याउन र पार्टी सभापति बनाउन काँग्रेस नेता राजीव विक्रम शाहले अहंम भूमिका खेलेको बताएको छ ।
जाजरकोट काँग्रेसको सर्वसम्मत नेतृत्व चयन गर्न निवर्तमान पार्टी सभापति दिपकजंग शाह र नेता राजीबविक्रम शाहले प्रमुख महत्वपूर्ण भुमिका खेलेका थिए ।
यस्तै सर्वसम्मतिको वातावरण निर्माण गर्न पूर्व पार्टी सनतकुमार कार्की, निर्वातमान उपसभापति सर्वराज रावतलगायतका नेताले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएको छ ।