बीरेन्द्रनगरमा कर्णाली प्रदेशकै नमुना बाख्रा फर्म

सुर्खेत
सुर्खेत बिष्ण थानीले बीरेन्द्रनगरमा नै उन्नत जातका बाख्रा पालेका छन् । बीरेन्द्रनगर नगरपालिका १ मा रहेको उनको बाख्रा फर्म प्रदेशकै नमुना बाख्रा फर्म पनि हो ।
व्यवसायिक रुपमा बाख्रापालन थालेका उनीसँग बोयर जातका सत प्रतिशत, ९३ प्रतिशत, ८७ प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशतका बोका र बाख्राहरु छन् ।
यस्तै उनले केही जमुनापारी जातका बाख्राहरु पनि पालेका छन् ।


उनका अहिले ६० वटा माउबाख्रा, २० वटा पाठापाठी र २० वटा बोका गरी सय वटा बाख्राहरु छन् । २ बर्षदेखि दीपमाला बाख्रा फर्म तथा पशुपंक्षी स्रोत केन्द्र संचालन गरेका थानीले २ जना युवालाई रोजगारी पनि दिएका छन् । नस्ल सुधारको लागि आफुले बाख्रापालन गरिरहेको थानीले बताए ।
अहिले बीउमै गइरहेका छन्, उनले भने, मासुको लागि बिक्री गरिदैन् ।


आफ्नै जग्गामा ३० लाखको लगानीमा २० वटा उन्नत जातका बाख्राबाट व्यवसाय थालेका थिए । उनले बाख्राबाट बर्षमा ८–१० लाख रुपैया आम्दानी गरिरहेका छन् ।
बुवाको निधनपछि उहाँले पाल्नु भएका बाख्रालाई आफुले व्यवस्थीत रुपमा अघि बढाएको उनी बताउँछन् ।
अहिलेसम्म राज्यबाट कुनै सेवा सुविधा नलिएका थानी माग धेरै भएकोले उनले उन्नत जातका पाठा पाठीहरु पुर्याउनै कठिन भैइरहेको बताउँछन् ।


बाख्राको लागि डेढ विगाह जग्गामा सुपर नेपिएर, स्मार्ट नेपिएर, किमु, कोइरालो, इपिल, मलेटो, भटमासे र मेन्दुला जातका घाँस लगाएका छन् ।
व्यवसाय हेर्न र सल्लाह सुझाव लिन दैनिक मानिसहरु उनलाई भेटन जान्छन् ।


बाख्रा पाल्ने सोच बनाएका व्यक्तिहरुलाई उनी बाख्राको लागि आवश्यक पर्ने घाँस लगाएर मात्र बाख्रापालन गर्न सल्लाह दिन्छन् । उनी भन्छन्, घाँसको व्यवस्था नगरी बाख्रा पालन गर्न कठिन हुन्छ । त्यसैले घाँससँगै राम्रो खोर बनाउन पनि जरुरी हुन्छ ।


बाख्राबाट राम्रो फाइदा लिन प्राविधिकको सल्लाहमा खोर निर्माण गर्ने, बाख्राको प्रजननलाई व्यवस्थित गर्ने र हाडनाताबाट जोगाउनु पर्ने सुझाव दिन्छन् ।


यस्तै बाख्राको अनिवार्य विमा गर्नु पर्ने, नछुटाई पिपिआर खोप लगाउन, समय समयमा जुकाको औषधी खुवाउन र बाख्राको स्वास्थ्य जाँच पनि आवश्यक पर्ने बताउँछन् ।
उनले बाख्रासँगै कालिज, लौकाट, बटाई र स्थानीय जातका कुखुरा पनि पालेका छन् ।

प्रकाशित मितिः १४ श्रावण २०७९, शनिबार १२:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *