जाजरकोट
जाजरकोट नलगाड नगरपालिकाका ८ लुपानाका २७ बर्षिया गर्भवती महिला लक्ष्मी ओलीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
४ दिन देखि सुत्केरी वेथाले छट्पटाई रहेकी ओलीलाई प्राथमिक स्वास्थ केन्द्र दल्लीमा उपचार हुन नसकेपछि हवाई उद्दारमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याएको हो ।
अवस्था एकदमै जटिल भएको कारण तत्काल हवाई उद्दार गरिएको नलगाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।
उनको पेटमा दुई वटा बच्चा हुर्किरहेका छन् । ति मध्ये एउटा बच्चाको धड्कन कम चल्न थालेपछि तत्काल उद्धारको व्यवस्था मिलाईको प्राथमिक स्वास्थ्य केन्द्र दल्ली जनाएको छ ।
उनलाई सुर्खेतबाट गएको सेनाको हेलिकप्टेरले उद्धार गरेको हो । उद्धार गरी प्रदेश अस्पताल पुर्याएकी ओलीको अहिले प्रदेश अस्पतालमा उपचार चलिरहेको प्रदेश अस्पतालले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत एअर लिफ्ट कार्यक्रमकी संयोजक नीता शर्माले विगत ४ बर्षको अवधिमा ३ सय भन्दा बढी गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार गरी पजोगाइएको छ ।
लक्ष्मीको गर्भमा रहेका जुम्ल्याहा बच्चा मध्य एक बच्चाको पेटमै मृत्यु भएपछि उनको अवस्था जटिल भएको नलगाड स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्कीले बताए । अवस्था जटिल भएपछि उनलाई शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याईएको थियो । तर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुत्केरी गराउन नसकिएपछि रिर्फर गरिएको थियो ।
गर्भवतीको अवस्था जटिल रहेको र तत्काल उद्धार गर्नु पर्ने जानकारी आउन वित्तिकै ढिला नगरी ओलीलाई उद्धार गरिएको पनि शर्माले बताइन् ।
ओलीलाई उद्धार गर्न जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर गिरी, वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्त, ८ का वडाध्यक्ष तेजबहादुर सिंह, बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्त, समाजसेवी, विष्णु खत्री, फनेन्द्र केसी, बखत खत्री, डम्वर शाही लगायतले आ आफ्नो ठाउँबाट सक्दो सहयोग र प्रयास गरेका थिए ।