सुर्खेत
सुर्खेतस्थीत प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि पहल थालिएको छ । अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले प्रतिष्ठान बनाउन अस्पतालसँग प्रयाप्त पूर्वाधार र विरामीको चाप रहेको बताए ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास उल्लेख गरेको छ । निर्देशक खड्का कर्णालीमा स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न र दक्ष जनशक्ति उत्पादनको लागि प्रतिष्ठान अवस्यक रहेकोमा जोड दिए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालाले राष्ट्रिय नीतिमा टेकेर सुर्खेतमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्ने बताए । अबको ५ बर्षमा नेपाललाई चाहिने भन्दा डाक्टरहरु उत्पादन हुदैछन्, उनले भने, सुर्खेतमा बन्ने प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ अध्ययन अनुसन्धान गर्नुपर्छ ।
कार्यक्रममा वरिष्ठ स्वास्थ्य विज्ञ प्राध्यापक डा. रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा अर्जुन कार्कीलगायतले पुराना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शिक्षा लिएर अघि बढ्न सुझाव दिए ।
यस्तै कार्यक्रममा कार्यवाहक मुख्यमन्त्री यज्ञबहादुर विसी, आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललगायतले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रदेश र स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने बताए ।