सुर्खेत
नेपालको सबैभन्दा पुरानो सांगीतिक समूहमध्येको बहुचर्चित नेपथ्य समूह १६ वर्षपछि सुर्खेतको वीरेन्द्रनगरमा फेरि एक पटक गुञ्जिने भएको छ ।
माथिल्लो कर्णालीका गाउँघर, कुनाकन्दराका भाकामा रहेका सः कर्णाली, पल्लाघरका बइका ,र भेडाको ऊनजस्तो लगायतका सांगीतिक प्रस्तुतीसहित पुस ६ गते खुलामञ्चमा गुञ्जिने भएको हो ।
एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन तथा अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित नेपथ्यले प्रस्तुती दिन थालेका हो ।
२०६३ सालमा शान्तिको लागि शिक्षाको नारासहित सुर्खेतमा पहिलो पटक भब्य कार्यक्रम गरेको नेपथ्य यसपाली भने ‘मानवताका लागि सङ्गीत’ यात्रा लिएर दोश्रोपटक सुर्खेतमा प्रस्तुती दिन आउन लागेको हो ।
विभिन्न जिल्लामा आश्रमका लागि भवन निर्माण र आश्रमको संरक्षणमा रहेका वृद्धवृद्धा, बालबालिका र युवा अवस्थाका व्यक्तिहरुको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको छ ।
सुर्खेतको वीरेन्द्रनगरसहित देशभरका विभिन्न १० शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागिएको आश्रमका केन्द्रीय सदस्य सृजना ओलीले जानकारी दिइन् ।
वीरेन्द्रनगरमा मानवसेवा आश्रमले आश्रितको दीर्घकालिन व्यवस्थापनका लागि भवन निर्माण गर्न जग्गा खोजी गरिरहेको छ । वीरेन्द्रनगरमा जग्गा खोजी गरी आश्रमको भवन निर्माणका लागि कार्यक्रम गर्न लागिएको उनले बताईन् ।
कन्सर्टमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्नेलगायत लोक÷रक गीतहरु प्रस्तुत गर्नेछन् ।
नेपथ्य ब्याण्डले यसअघि विभिन्न देश परिवर्तनका नाराहरुसहित कार्यक्रम गर्दै आइरहेकोमा आगामी पौष ६ गते हुने यस सङ्गीत यात्रालाई ‘मानवताका लागि सङ्गीत’ यात्रा २०२२ नाम दिएको छ ।
लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालापछि २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरमा कार्यक्रम गरिनेछ ।
त्यसपछि २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ ।
अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
आश्रमको एघारौँ शाखाका रुपमा २०७५ माघ १८ गतेबाट वीरेन्द्रनगर नगरपालिका–१२ (सुर्खेत एयरपोर्टको पछाडि)बाट सेवा प्रवाह गर्दै आइरहेको आश्रमले हाल घर भाडामा लिएर २ बालक, ५ बालिका, ३७ पुरुष र २८ जना महिला गरी ७२ जनाको सेवा दिइरहेको छ ।
कार्यक्रमलाई सफल बनाउन मानवसेवा आश्रमको शाखाका साथै अनलाइनमा थुप्रै डटकम र इसेवाबाट समेत टिकट खरिद गर्न सकिने प्रचार समितिका संयोजक गणेशकुमार कार्कीले बताए ।