बिष्णु रावल / जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका ४ लहँमा यही जेठ २६ गते निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन लागेको छ । वडाको पहल र समुन्वय तथा कर्णाली केयर अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले शिविरको आयोजना गरेको हो ।
शिविरमा वालबालिकाहरुको विभिन्न स्वास्थ्य परिक्षण तथा उपचार, हाडजोर्नी तथा नसारोग, वाथरोग, ढाडको समस्या भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा उपचार हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवराज कँडेलले बताए ।
यस्तै महिलाहरुको महिनावारी गडवढी, सेतोपानी वग्ने, पाठेघर खस्ने, स्तनको समस्याको परिचान र उपचार हुने, छाती दुख्ने, पेट तथा मुटुको समस्या भएका व्यक्तिहरुको पनि समस्या पहिचान र उपचार गरिने उनले बताए ।
शिविरमा मुख तथा दाँतको परिक्षण र उपचार, खानेपानीको गुणस्तरीयता परिक्षण, पाँच वर्ष मुनीका अपागता वालबालिकाको पहिचान, उपचार र प्रेषण, शंकास्पद क्षयरोगीको खकार परिक्षण, व्यक्तिगत सरसफाई सम्वन्धी शिक्षा र जानकारी पनि दिइने कार्यक्रमका फोकल पर्सन नरेश शाहीले जानकारी दिए ।
विशेषज्ञ डाक्टरहरुबाट उपचार हुने भएकोले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्या चेकजाँच गरेर उपचार सेवा लिन वडाध्यक्ष बद्री पन्तले सबै वडावासीलगायत नलगाडबासीलाई आग्रह गरेका छन् ।
आर्थिक अभावलगायत विभिन्न कारणबाट विशेषज्ञ डाक्टर र राम्रो अस्पतालमा गएर उपचार लिन नसक्ने वडावासीको लागि घरदैलोमै निशुल्क स्वास्थ्य सेवा उपलव्ध गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविरको लागि आवश्यक पहल र समुन्य गरेको पनि वडाध्यक्षले उल्लेख गरेका छन् ।
शिविरमा झण्डै एक हजारजना व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिने अपेक्षा वडाध्यक्ष पन्तले लिएका छन् । आफ्नो सानो आग्रहमा निशुल्क स्वास्थ्य शिविर संचालनको लागि आवश्यक सहयोग गर्ने स्वास्थ्य सेवा कार्यालय र कर्णाली केयर अस्पताललाई हृदयदेखि नै आभार व्यक्ति पनि उनले गरेका छन् ।
शिविरमा सुर्खेतस्थीत प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल र जिल्ला अस्पताल जाजरकोटमा कार्यरत कर्णाली प्रदेशकै अव्वल वालरोग विशेषज्ञ डा. नवराज केसी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेल, स्त्रीरोग विशेषज्ञ डा. खिमा न्यौपाने, जनरल फिजिसियन डा. दयाराम यादवलगायतका चिकित्सव र स्वास्थ्यकर्मीले विरामी चेकजाँच र उपचार गर्ने शिविर आयोजक स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
शिविरमा स्वास्थ्य चौकी लहँलाई अक्सिजन कन्सन्टेटरलगायतका स्वास्थ्य तथा सरसफाई सम्वन्धी महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।