नलगाडको लहँमा नि:शुल्क स्वास्थ्य शिविर, झण्डै हजार जनाले पाए स्वास्थ्य सेवा

विष्णु रावल /जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका -४, लहँमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य कार्यालय जाजरकोटको आर्थिक र कर्णाली केयर अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा वडा नम्वर ४ ले यही जेठ २६ गते शिविर आयोजना गरेको हो ।


शिविरमा स्वास्थ्य सेवा लिएका ९ सय २१ जना मध्ये आधा भन्दा बढी महिलाहरु रहेका छन् । शिविरमा आएका अधिकाश महिलाहरुमा यौनीबाट सेतो पानी वग्ने, पाठेघर खसेको, महिनावारी गडवडी, महिनावारीको वेला अत्याधिक रक्तश्राप हुनेजस्ता समस्या देखिएको स्त्रीरोग विशेषज्ञ डा. खिमा न्यौपानेले बताउँनु भयो ।

उहाँका अनुसार पोषण युक्त खानपान र सरसफाईको अभावले गर्दा महिलाहरु यस्ता खालका समस्या देखिएका हुन । कतिपय २८ -२९ वर्षका महिलाहरुको पाठेघर खसेकोले अप्रेसन गरेर पाठेघर नै फाल्नु पर्ने अवस्था देखिएको छ ।


शिविरमा आएका अधिकाश महिला र पुरुषहरुमा ढाड दुख्ने, जोर्नी, घुँडा, वाथरोग, जोर्नीमा पानी भरिएको समस्या देखिएको छ । हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले अत्याधिक कामले गर्दा जोर्नी जाम,नसा दवेको, पाखुरा जाम भएको पाइएको बताउँनु भयो ।


शिविरमा आएका अधिकाश वालवालिकामा पोषण तथा सरसफाईको कामले गर्दा हुने समस्या देखिएको वालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिनुभयो ।


वडाध्यक्ष बद्री पन्तले आर्थिक अभावलगायत विभिन्न कारणबाट विशेषज्ञ डाक्टर र राम्रो अस्पतालमा गएर उपचार लिन नसक्ने वडावासीको लागि घरदैलोमै निशुल्क स्वास्थ्य सेवा उपलव्ध गर्ने उदेश्यले निशुल्क स्वास्थ्य शिविर गरेको उल्लेख गर्नु भयो ।


शिविरमा वालरोग विशेषज्ञ डा. नवराज केसी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.रुपक कँडेल, स्त्रीरोग विशेषज्ञ डा. खिमा न्यौपाने, जनरल फिजिसियन डा. दयाराम यादवलगायतका चिकित्सव र स्वास्थ्यकर्मीले विरामी चेकजाँच र उपचार गर्नु भएको थियो ।


शिविरमा स्वास्थ्य चौकी लहँलाई अक्सिजन कन्सन्टेटरलगायतका स्वास्थ्य तथा सरसफाई सम्वन्धी महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मितिः ३२ जेष्ठ २०८०, बिहीबार ०६:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *