जेहेन्दार विद्यार्थीको पढाइको लागि सरस्वती मावि रागसपाइलामा अक्षयकोष स्थापना

सुर्खेत
गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोगको लागि वीरेन्द्रनगर नगरपालिका -२, मा रहेको सरस्वती माध्यामिक विद्यालय रागसपाइलामा अक्षयकोष स्थापना गरिएको छ ।
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी प्रधानाध्यापक सरिता शर्माले बताइन् ।


प्रधानाध्यापक सरिता शर्माका अनुसार उक्त कोषको रकमबाट विद्यालयमा अध्ययनरत २ जना जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययन गर्न सहयोग पुग्नेछ ।
बिहिवार एक कार्यक्रमका वीच जयन्तीका बुवा धर्मजंग थापाले एकलाख एकहजार एक सय एघार रुपैयाको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर वयलकोटी, वडाध्यक्ष गजबहादुर वुढा, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापकलगायतको रोहवरमा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।


जयन्तीका बुवा धर्मजंग आफ्नी छोरीले गरेको समाजसेवाप्रति खुसी र गर्व गर्दै अक्षयकोषबाट जेहेन्दार बालबालिका फाइदा पुग्ने उल्लेख गरे ।
विद्यालयमा अक्षयकोष स्थापना गर्न पहल गरेकी प्रधानाध्यापक शर्माले आफ्नो विद्यालयलाई गरेको सहयोगप्रति समाजसेवी थापालाई हृदयदेखि नै आभार व्यक्त गदै आगामी दिनहरुमा पनि सहयोग र साथ जारी रहने अपेक्षा राखेकी छन् ।


समाजसेवी थापाले कर्णालीसहित देशका विभिन्न ठाउँहरुमा विद्यालयमा अक्षयकोषसहित विभिन्न सामाजिक कामहरुमा सहयोग गदै आइरहेकी छन् ।

प्रकाशित मितिः २२ असार २०८०, शुक्रबार ०६:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *