मिटर व्याज, ढुकुटी, अटो पास गर्नेलाई जनकारवाही गर्ने बिप्लव माओवादीको चेतावनी

सुर्खेत, २७ साउन ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी सुर्खेतले प्रहरी प्रशासनले पीडितहरुको गुनासो नसुनेको भन्दै न्यायको लागि पीडितहरुले आफनो पार्टी काहाँ उजुरी दिन थालेको जनाएको छ ।
मिटर व्याज, कालाबजारी, अटो पास, ज्यान सुरक्षा जस्ता उजुरीहरु वाटीमा आउन थालेको माओवादीले जनाएको छ ।
नेकपा माओवादी सुर्खेतका सेक्रेटरी प्रकाश ओलीले चर्को व्याज, अटो पास, कालोबजारी र ज्यान सुरक्षाका गरी अहिले करिव ४०÷४५ वटा उजुरी नगर परिषदमा दर्ता भएको बताउनु भयो ।
पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा एकैजना व्यक्ति विभिन्न व्यक्तिहरुको ५ करोड रुपैयासम्म मिटर व्याजमा लिएको पाइएको उहाँले जानकारी दिनुभयो ।
मिटर व्याजमा पैसा दिएको तर पैसा दिएको प्रमाण नभएका ९ जना व्यक्तिहरुको ६७ लाख ९० हजार रुपैयाको तिर्ने गरी कागज गरिएको ओलीले उल्लेख गर्नुभयो ।
९ जना व्यक्तिहरुको १० देखि २५ लाख रुपैयासम्म मिटर व्याजमा पैसा लिएको पाइएको उहाँले जानकारी दिनुभयो ।
मिटर व्याजमा पैसा लिनेदिने दुवै महिलाहरु हुने गरेको, श्रीमानलाई पैसा लिए दिएको थाहा पनि नभएको, लिने दिनेको कागज नगरेको, चेक नभई नगद पैसाको लिनेदिने गरेको र पैसा लिनेदिने वेला दोस्रो व्यक्तिलाई थाहा नदिने गरेको पाइएको सेक्रेटरी ओलीले बताउनु भयो ।
तोकिएको समयभित्र पैसा फिर्ता नगरे त्यस्ता व्यक्तिलाई कारवाही गर्ने चेतावनी नेकपा माओवादी सुर्खेतले जनाएको छ ।
पैसा असुल उपर गर्नको लागि प्रहरी काहाँ उजुरी दिन जादा प्रमाण माग्ने र प्रमाण नभएर उजुरी नै दर्ता नगर्ने भएकोले आफुहरु यता आउन वाध्य हुने गरेको पीडितले जनाएको विप्लव माओवादीले उल्लेख गरेको छ ।
पैसा मिटर व्याजमा लगाउने, ढुकुटी खेलाउने, अटो पास गर्ने कार्यमा सुर्खेतका ठुला व्यापारी र धनी व्यक्तिहरुको संलग्नता रहेको पाइएको माओवादीले दावी गरेको छ ।
यस्तो कार्यक्रम संलग्न व्यक्तिहरुलाई पहिलो पटक सुझाव दिने, सुझाव नमाने जनकारवाही गर्ने चेनावनी सेक्रेटरी प्रकाश ओलीले चेतावनी दिनुभयो ।
न्यायको लागि परेका उजुरीहरु नगर परिषदले नसके जिल्ला परिषदले गर्ने, जिल्ला परिषदले नसके केन्द्रीय परिषदमा पठाउने उहाँले उल्लेख गर्नुभयो ।
चर्को व्याजमा पैसा लगाउनेहरु सरकारी कर्मचारी, सेना प्रहरी, वैदेशिक रोजगारमा गएका व्यक्तिहरु रहेको माओवादीले जनाएको छ ।

प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०९:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *