आकाश तारा बयक
सुर्खेत, २५ मंसिर ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीव्र बनेको छ । मध्यपश्चिमको आर्थिक समृद्धिसँग जोडिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र भएसँगै त्यस क्षेत्रका सर्वसाधारण उत्साहित भएका छन् । आयोजनाको पूर्वाधार निर्माण शुरु भएपछि रोजगारीका अवसर सृजना हुँदा स्थानीय बासिन्दालाई उत्साहित बनाएको हो ।
आयोजनाले पूर्वाधार निर्माण शुरु गरे सँगै रोजगारी तथा लगानीका अवसर खुलेपछि यस क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको हो । अहिले यस क्षेत्रका कतिपय युवा वैदेशिक रोजगारीलाई त्यागेर आयोजनामा काम गर्न थालेका छन् । गाउँमै निर्माण हुन लागेको आयोजनामा काम गरी घरखर्च जुटाउन पाउँदा आफूलाई सन्तुष्टी मिलेको देवेन्द्र खत्रीले बताए । उनले कमाईका लागि विदेश जाने जहाजको टिकट रद्द गरेर आयोजनामा काम गर्न लागेको जनाए । आयोजनाको काम शुरु भएसँगै गाउँघरमा सडकलगायतका पूर्वाधार पनि तयार भएका छन् । हात्तिखाल आसपासका गाउँमा विद्युत, यातायात तथा सिंचाईको पहुँच विस्तार भएसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको हात्तीखाल निवासी भावना विक बताउँछिन् । उनले आयोजनाको काम शुरु भएसँगै स्थानीयलाई रोजगारीसँगै भौतिक पूर्वाधारको विकास समेत बताईन् । उनका अनुसार अहिले गाउँमा सडक, वत्तीसँगै स्थानीय कृषिजन्य उत्पादकत्वमा
समेत खपत बढ्दै गईरहेको छ ।
आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति स्थानीय स्तरमै उपलब्ध भएकाले रोजगारीसँगै लगानीको समेत अवसर खुलेको छ । आयोजना शुरु भएपछि स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको माग बढ्नुका साथै साना तथा मझौला होटल तथा पसलहरुले मनग्य आम्दानी गरिरहेका छन् । आयोजनाले श्रीमानलाई रोजगारीसँगै आफूलाई होटलबाट राम्रो आम्दानी भईरहेको व्यवसायी लक्ष्मी जैसीको भनाई छ । उनले हात्तीखाल क्षेत्रमा आयोजनाको काम तीव्र हुँदै जाँदा कामदारको संख्या बढ्दा व्यापार व्यवसाय समेत बढेको जानकारी दिईन् ।
नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोगबाट १२ किलोमिटर लामो सुरुङ निर्माणको आधारभूत काम शुरु भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप कम्पनी लिमिटेडले सुरुङ निर्माणको कार्य अपेक्षा भन्दा तीव्र रुपमा अगाडि बढाएको आयोजनाको भनाइ छ । आयोजनाले अहिले साढे तीन सय जना स्थानीयलाई रोजगारी दिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर जगदिश्वरमान श्रेष्ठले बताए । उनका अनुसार आयोजनाले सामाजिक विकास तर्फ लिफ्ट सिंचाई, कुलो सुधार तथा लाइनिङ सिक्मेण्ट, प्रडक्शन प्लान, इक्वीपमेण्ट, कन्सटेक्शन मेटेरियल एवम् कन्सटेक्शन इक्वीपमेण्टको कार्य भईरहेका छन् । आयोजनाले तीन चरणमा निर्माण सम्पन्न गरिने यस आयोजनामा पहिलो चरणमा १२ किलोमिटर सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । तेस्रो चरणमा सिँचाइको लागि काम गरिनेछ ।
सुर्खेतको लेखफर्सा स्थित चिप्लेमा बाँध बाँधेर भेरी नदीको पानीलाई चुरे पहाडभित्र १२ किलोमिटर लामो सुरुङ मार्ग मार्फत बबई नदीमा मिसाएर सिँचाइ र विद्युत उत्पादन गर्न आयोजना निर्माण कार्य शुरु भएको हो । आयोजनाबाट बर्दिया र बाँकेका ६० हजार हेक्टर जमिनमा सिंचाइका साथै ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । करिब १७ अर्ब रुपैयाँ लाग्ने सो आयोजनाबाट बाँके र बर्दियामा वार्षिक सवा दुई अर्ब रुपैयाँ कृषिजन्य उत्पादनबाट आम्दानी हुनेछ भने विद्युतबाट दुई अर्ब प्रतिवर्ष मुनाफा हुनेछ । सरकारले आन्तरिक स्रोतबाट सुरुङ निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सात वटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।