आकाश तारा बयक
सुर्खेत, २७ मंसिर ।
सरकारले यो आर्थिक वर्षभित्रै देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि सुर्खेतमा लक्ष्यअनुरूप काम हुन सकेको छैन । जिल्लाको ग्रामीण क्षेत्रका १२ मध्ये १० स्थानमा स्थानीयवासी अझै पनि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् । पायक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेदेखि विद्यार्थी, महिला, बिरामी र बालबालिकाले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।
झोलुङ्गे पुल नहुँदा सो क्षेत्रका करीब ३ लाख स्थानीय बासिन्दा तुइनबाटै जोखीमपूर्ण यात्रा गरिरहेका छन् । तुइन तर्दा केहीले त ज्यानै गुमाएका छन् । अन्य समयमा तुइन तर्न सहज भए पनि वर्षात्मा निकै समस्या हुने गरेको लेखफर्साकी सृजना बोटे बताउँछिन् । जिल्लाका १२ स्थानमा तुइन विस्थापित गर्न जिविसले पाँच र सस्पेन्शन ब्रिज डिभिजनल झोलुङ्गे पुल शाखाले सातओटा पुल बनाउने जिम्मेवारी पाएका थिए । तीमध्ये हालसम्म एक÷एकओटा पुल जिविस र सस्पेन्शन ब्रिज डिभिजनले निर्माण गरेका छन् ।
जिविसद्वारा निर्माणाधीन बाँकी चारओटा पुलको काम आगामी पुस मसान्तभित्रै पुरा गरिसक्ने लक्ष्य राखिएको जिल्ला प्राविधिक फाँटका असिष्टेण्ट सब इञ्जिनीयर विष्णुबहादुर शाहीले बताए । बाँकी ६ ओटा पुल पनि तोकिएकै समयमा सम्पन्न गर्न सस्पेन्शन ब्रिज डिभिजनले तीव्ररूपमा काम अघि बढाएको उनको भनाइ छ । हाल जिल्लाका दुई स्थानका मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको छ । जिल्लाका भेरी र कर्णाली नदी तथा अन्य खोलाहरूमा झोलुङ्गे पुल बने २ लाख ८९ हजार ७ सय स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्राविधिक कार्यालयले धारापानी गाविसको सुर्खेत–सल्यान जोड्ने रैकरमा तुइन विस्थापित गरेर पहिलोपटक झोलुङ्गे पुल निर्माण गरेको छ । सस्पेन्सन डिभिजनले लेखफर्सा र भेरीगङ्गा जोड्ने छोटेचिप्लेको तुइन विस्थापित गरेर पक्की पुल निर्माण गरिसकेको छ । बाँकी ६ स्थानमा पनि काम भइरहेको जिल्ला प्राविधिक कार्यालय सुर्खेतका प्रमुख इञ्जिनीयर शम्भु मिश्रले जानकारी दिए ।
सस्पेन्शन डिभिजनले तरङ्गा–सुगरखाल जोड्ने बुगाडघाट, वेतान–बतलाको वेनिघाट, तरङ्गाको मौरीघाट, तातापानीको बटाघाट र घाटगाउँको गल्फघाटमा पनि झोलुङ्गे पुल निर्माण कार्य जारी राखेको छ । सस्पेन्शन डिभिजिनले बाँकी पुलहरूको ठेक्का गरेर निर्माण गरिरहेको बताए पनि कहिलेसम्म काम सकिन्छ भन्ने निश्चित नभएको प्राविधिक कार्यालयका प्रमुख इञ्जिनीयर मिश्रको भनाइ छ ।
जिल्लाका तातापानी, तरङ्गा, घाटागाउँ, बेतान, लगाम, गुटु, विद्यापुर, बाबियाचौर, पोखरीकाँडा र भेरीगङ्गा नगरपालिकाका बासिन्दालाई अझै पनि तुइनबाटै आवत–जावत गर्नुपर्ने बाध्यता छ । २०७२ असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका थिए ।