बाबा बयक
सुर्खेत, १ पुस ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि सबै दलहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । मध्यपहाडी लोकमार्गको दैलेख र अछामलाई जोड्ने कर्णाली नदी माथिको पुलको आज बेलखेतमा उद्घाटन गर्दै मन्त्री लेखकले महत्पूर्ण राष्ट्रिय एजेन्डाहरुमा संविधानका असन्तुष्टीलाई सम्बोधन गर्न ठूला दलहरु वीच छलफलका माध्यमबाट निकास दिन जोड दिनु भयो ।
उहाँले मध्यपहाडी लोकमार्ग र त्यस जोडिएका दशओटा नमुना शहरको विकासमा सरकारले ध्यान केन्द्रित गरेको बताउनु भयो । पूर्व–पश्चिम, उत्तर–दक्षिणी सडक सञ्जाल जोडेर व्यापार र पर्यटन प्रर्वद्धनमार्फत् समग्र ६ र ७ नम्बर प्रदेशको आर्थिक उन्नती गर्न सकिने उहाँको भनाइ थियो । सो अवसरमा उहाँले कर्णाली राजमार्गको स्तरोन्नतीमा बाधक रहेका पुल निर्माण ठेकेदार कम्पनीलाई तत्काल कारवाही गर्न सडक विभागलाई निर्देशन समेत दिनु भयो ।
संविधान सभामा सुर्खेतबाट प्रतिनिधित्व सांसद तप्तबहादुर विष्टले कर्णाली चिसापानी–जंगलाघाट–जम्मुगढा हुँदै मानसरोवर जाने सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नु भयो ।
कर्णाली नदी माथि पक्कि पुल सञ्चालन आएसँगै अब मध्य तथा सुदूरपश्चिमका दश लाख बासिन्दा लाभान्वित हुने छन् । सात वर्ष लगाएर बेलखेतमा निर्माण सम्पन्न भएको दुई सय मिटर लामो पुलले आर्थिक प्रगतिसँगै सांस्कृति तथा सामाजिक सद्भावमा टेवा पुग्ने विश्वास लिइएको छ ।
पुल उद्घाटन कार्यक्रममा सडक विभागका निमित्त महानिर्देशक दयाकान्त झा, मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड)का आयोजना प्रमुख सूर्य भाट, मध्यपश्चिमाञ्च क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय निर्देशक मुक्ति गौतम लगायतले सम्बोधन गर्नु भएको थियो ।