आकाश तारा बयक
सुर्खेत, ५ पुस ।
पश्चिम सुर्खेतका रोशन बयकले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किने । उनीमात्र होइन्, चिसो मौसम बढेसँगै सदरमुकाम वीरेन्द्रनगर आउने अधिकांशले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् । ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको छ । अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा उपहार दिन मिल्ने सामान उत्पादन हुन थालेपछि यसको बजार फराकिलो हुँदै गएको हो ।
पहिले ढाका टोपी, चोली, पछेरामा मात्र सीमित थियो । अहिले सदरमुकाम वीरेन्द्रनगरका ढाका कपडा पसल बिहानैदेखि आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । जिल्लामा वार्षिक ५ करोड बराबरको कारोबार हुने गरेको सुर्खेत उद्योग वाणिज्य संघको अनुमान छ । ढाकाको माग बर्षेनि बढ्दो छ । ढाका पसलेले वार्षिक पाँच लाखदेखि १० लाखसम्म कारोबार गर्छन् । आन्तरिक पर्यटकका कारण ढाका कपडाको कारोबारमा थप बृद्धि भएको सुर्खेती ढाका उद्यमी लघु समूहकी सदस्य डम्मर शाहीले बताईन् । ‘उपहारका रुपमा लैजाने चलन अत्याधिक छ’, उनले भनिन्, ‘शौक्षिक भ्रमण गर्नेको संख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा समेत बृद्धि हुन थालेको छ ।’
जाडो याममा बढी मात्रामा ढाकाको कपाडको कारोबार हुन्छ । ढाका कपडा दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा लगायतका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने अधिकांश महिलाले मासिक पाँच हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
केही वर्ष यता सुर्खेत आसपासका क्षेत्रमा ढाका कपडाको व्यापार उत्साहजनक रुपमा बढेको ढाका कपडा प्रशिक्षक चम्फा देवी उदय बताउछिन् । उनले विशेष गरी चाडपर्व, विवाह, पास्नी, व्रतबन्धसँगै जाडोको समयमा ढाकाका कपडाको खोजी हुने गरेको जनाईन् । उनका अनुसार वीरेन्द्रनगरमा दौरा सुरुवाल लगाउने तर्फ विस्तारै आकर्षण बढ्न थालेको छ । ‘बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको छ’, ढाका कपडा प्रशिक्षक उदयले भनिन् । पछिल्लो समय ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा बृद्धि भएको हो ।
यसवीच एकै वर्षमा एक सय ढाका उद्यमी थपिएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले बताएको छ । घरेलु तथा साना उद्योग, गरिवी निवारणको लागि उद्यम विकास कार्यक्रम (मेडपा) र लद्यु उद्यम विकास कार्यक्रम (मेडेफ) ले तालिम तथा प्रशिक्षण दिएपछि जिल्लामा एक सय बढी ढाका उद्यमी थपिएका हुन् । यो सँगै अब जिल्लामा दुई सय ढाका उद्योग रहेका छन् ।
घरेलुका निर्देशक विनोददेव पन्तले गत आर्थिक वर्षमा विभिन्न संघसंस्थाको सहयोगबाट एक सय ढाका कपडा उद्यमी तयार भएको जनाए । उनले ढाका कपडाका पोशाकमा विविधिकरणसँगै कारोबारमा समेत बृद्धि हुँदै गएको बताए । उनका अनुसार जिल्लाका डेढ सय ढाका उद्यममा एक हजार मानिस संलग्न रहेका छन् ।
उनले ढाका उद्योगमा कामदारको सहज आपूर्ति गर्न घरेलुले गत सातादेखि ४५ दिने तालिम सञ्चालन गरेको जनाए । सिलाईकटाई जानेका ११ जना महिलालाई ढाका व्याग, पर्स टाई, बेल्ट बनाउने उक्त तालिम पश्चात उद्यम बनाउने योजना रहेको पन्त बताउँछन् । उनीहरुको तालिम पुरा गराउन करिब तीन लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
फोटो क्याप्सनः– घरेलु तथा साना उद्योग विकास समितिद्वारा ४५ दिने ढाका व्याग, पर्स, टाई र बेल्ट बनाउने तालिमका सहभागिले बनाएका व्याग देखाउँदै । तस्विरः– आकाश तारा बयक सुर्खेत ।