आकाश तारा बयक
सुर्खेत, १० पुस ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बसपार्कको समस्याले विकराल रुप लिएको छ । दैनिक हजारौं सवारी साधनको चाप भोग्दै आएको सदरमुकाम वीरेन्द्रनगरमा ५ वर्ष वितिसक्दा समेत बसपार्क निर्माण हुन नसक्दा सवारी साधनसँगै सर्वसाधारणले सास्ती खेप्नु परेको हो । बस पार्कको अभावमा सवारी साधानहरु अस्तव्यस्त रुपमा सडकमै पार्किङ्ग गर्ने क्रम बढ्दै जान थालेको छ ।
मिनि बस पार्क निर्माणमा वीरेन्द्रनगर नगरपालिकाको ढिलासुस्तीका कारण सवारी साधानसँगै यात्रुले दुःख उठाउनु परिरहको छ । नपाले विभिन्न समस्या देखाउँदै निर्माणधीन बस पार्क तोकिएकै समय भित्र बनाउन तर्फ ध्यान पु¥याउन सकेको छैन् । कर्णाली अञ्चलको मुख्य नाका र ६ नम्वर प्रदेशको प्रस्तावित राजधानी भएकाले वीरेन्द्रनगरमा वर्षेनी जनसंख्या बढ्ने क्रमसँगै यातायातको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ । सवारी साधनको चाप बढ्दै जाने तर बसपार्क नबन्ने गर्नाले यातायात व्यवसायीसँगै सर्वधारणलाई समस्या सिर्जना भएको हो ।
सवारी साधनको चाप बढ्दै जाने तर व्यवस्थित बसपार्क बन्न नसक्नाले यो समस्याले वीरेन्द्रनगरमा विकरालरुप लिँदै जान थालेको छ । बसपार्क नहुँदा आफूहरुलाई ज्यादै समस्या भएको परेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटा बताउँछन् । बाटोमा बसहरु राख्नु पर्दा विभिन्न र्दुघटनाहरु घट्ने गरेको सचिव सापकोटाको भनाइ छ ।
बस पार्क नभएकै कारण बजारमा अनियन्त्रित रुपमा पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको मध्यपश्चिमाञ्जल यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दानबहादुर गुरुङ सुनाउँछन् । बस सडकमा रोक्दा ट्राफिक प्रहरीले कराउने र साइटमा रोक्दा व्यापारीहरुले ढुङ्गा लिएर आउने समस्या सृजना भएको उनले दुःखेसो पोखें । बसपार्क नहुँदा यातायात व्यवसायी र सवारी चालकलाई मात्र दुःख भएको छैन पैदल हिड्ने यात्रुहरुलाई पनि समस्या भएको स्थानीयको भनाइ छ । सडक छेउसम्म ढाकिने गरी बसहरु राखिदिनाले यात्रुलाई हिड्न समेत समस्या परेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयकले बताईन् । उनले र्सार्वजनिक यातायातका साधनहरु मात्र होइन प्राइभेट सवारी साधनहरु समेत रोड नजिकै पार्किङ्ग गर्ने क्रम बढ्न थालेको उल्लेख गरिन् ।
त्यसैगरी वीरेन्द्रनगरमा बस पार्क नहुँदा मिनि सवारी साधानहरु पार्किङ्ग गर्न समस्या भएको मध्यपश्चिम जीप यातायात व्यवसायी संघका उपाध्यक्ष प्रकाश शाही बताउँछन् । जहाँ मिल्छ त्यही पार्किङ्ग गर्दै आइरहेको उनको भनाइ छ । जहाँ पायो त्यहीं बसहरु रोक्दा स्थानीय बासीको गालीसमेत खानु परिरहेको उनी बताउँछन् ।
यसरी सवारी साधनको चाप बढ्दै जाने तर व्यवस्थित बसपार्क बन्न नसक्नाले यो समस्या वीरेन्द्रनगरमा विकराल रुप लिँदै जान थालेको छ । बसपार्क नहुँदा सवारी चालकलाई ठूलो समस्या परेको यातायात मजदुर संगठनका पदाधिकारीहरुको भनाइ रहेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले वीरेन्द्रनगरमा बसपार्क नभएर ट्राफिक व्यवस्थापन गर्न जटिल समस्या भएको बताए । बसपार्क निर्माण ढिलाईले रत्नराजमार्ग कै छेऊछाउ र सडकमै सवारी साधनहरु रोकेर राख्नाले एकातिर पैदल हिड्ने यात्रुहरुलाई समस्या परेको छ भने अर्को तर्फ ट्राफिक व्यवस्थापनमा कठिनाइ परेको उनको भनाइ छ ।
नगरपालिका, जिल्ला विकास समिति, उद्योग वाणिज्य संघले संयुक्त रुपमा मिलेर बसपार्कको समस्या समाधान गर्नमा पहल गर्नुपर्ने भएपनि कसैले यसप्रति चासो नदेखाएको सम्वद्धहरु बताउँछन् । दिनप्रतिदन सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बसपार्कको आवश्यकता बढ्दै जान थालेको भएपनि सम्बन्धित निकायले अहिलेसम्म खासै चासो देखाएको पाइँदैन । अब पनि वीरेन्द्रनगरमा निर्माणधीन बसपार्क निमाणका लागि तदारुकताका साथ पहल गरिएन भने यो समस्या झन–झन् बढ्दै जाने स्थिति देखिन्छ ।
काँक्रेविहार यातायात व्यवसायी संघ, मध्यपश्चिम यातायात व्यवसायी संघ, मध्यपश्चिम जीप यातायात व्यवसायी संघ, देउती यातायात, बुलबुले यातायात र स्थानीय मिनी बस सेवा समिति अन्तगर्तका सवारी साधनहरु वीरेन्द्रनगरबाट विभिन्न स्थानहरुका लागि सञ्चालित छन् । यहाँबाट कर्णालीसँगै अछाम, जाजरकोट, नेपालगञ्ज, धनिगढी, पोखरा, काँकरभिट्टा, धरान, वीरगञ्ज र काठमाडौं लगायतका स्थानहरुमा जाने सवारी साधनहरु छुट्ने गर्दछन् । त्यसैगरी जिल्ला भित्रका विभिन्न ठाउँहरुका लागि समेत सदरमुकाम वीरेन्द्रनगरबाट वस तथा जीपहरु छुट्ने गर्दछन् ।