सवारी ‘टाइम कार्ड’ वैज्ञानिक नहुँदा व्यापारी मारमा

डिलबहादुर खत्री
सुर्खेत, ११ पुस ।
सुर्खेतमा सवारी दुर्घटना न्यूनिकरण गर्न लागू गरिएको ‘टाईम कार्ड’ को नियमबाट सवारी धनी मारमा परेका छन् । ट्राफिक प्रहरीले सडकको स्तरोन्नतीसँगै समय सापेक्ष ‘टाईम कार्ड’लाई वैज्ञानिक र व्यवहारिक नबनाउँदा सवारी धनीसँगै यात्रुले हैरानी खेप्नु परेको हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनिकरण गर्न लागू गरेको सवारी टाईम कार्ड (समय तालिका) बाट यातायात व्यवसायी मारमा परेको बताएका छन् । सवारी टाइम कार्ड समय सापेक्ष नभई अबैज्ञानिक र अव्यवहारिक हुँदा सवारी धनीसँगै यात्रुले समेत सास्ती खेप्नु परेको मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दानबहादुर गुरुङ बताउँछन् । उनले कर्णाली राजमार्गमा दिउँसो हिड्ने सवारी साधानलाई टाइम कार्ड लागु गर्ने तर, जुम्ला–काठमाडौं जाने रात्रीकालिन यात्रु बसमा त्यो नियम लागु नहुँदा सरकारी विभेद गरिएको जनाए । उनका अनुसार कर्णाली राजमार्गमा हालसम्म भएका अधिकाँश सवारी दुर्घटना रात्रीकालिनमै भएका छन् ।
Time Card1ट्राफिकले सुर्खेत–जुम्ला, सुर्खेत–जाजरकोट र सुर्खेत–दैलेख सडकखण्डमा सवारी टाईम कार्ड लागु गरेको छ । यी सडकमा गुड्ने भाडाका सवारी साधान (जीप, बस, माइक्रो बस) लगायतले अनिवार्य रुपमा टाइम कार्ड लिनु पर्ने बाध्यता छ । केही सवारी साधानले मात्र सवारी टाईम कार्डको पालना गरेपनि केहीले प्रहरीकै मिलेमतोमा आफूखुसी निर्वाधरुपमा आवतजावत गरेर टाईम कार्डको दुरुपयोग भईरहेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेशकुमार सापकोटाको आरोप छ । उनले टाईम कार्ड सवारी दुर्घटना न्यूनिकरणका लागि राम्रो भएपनि यसलाई समेत सापेक्ष व्यवहारिक र वैज्ञानिक नबनाईदा कठिनाई भईरहको बताए ।
परिवर्तित समय र परिस्थिति अनुसार ट्राफिक प्रहरीले काम गर्न नसक्दा अहिले सवारी ‘टाईम कार्ड’ अव्यवहारिक बन्दै गईरहेको यातायात व्यवसायीको गुनासो छ । सडकको अवस्था लगायतका पूर्वाधार हेरेर टाईम कार्ड नियमलाई समय सापेक्ष बनाईनु पर्ने मध्यपश्चिमाञ्चल जीप यातायात व्यवसायी संघका उपाध्यक्ष प्रकाश शाही बताउँछन् ।
अधिकाँश सवारी दुर्घटना तीव्रगतिले हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न टाईमकार्डको नियमले सहयोग पुगेको ट्राफिक कार्यालयको दावी छ । ट्राफिक प्रहरीले सवारी साधान चेकजाँच, बसपार्कसँगै यात्रुबाहक सवारीमा आरक्षण सीटको व्यवस्था रहे नरहेको अनुगमन समेत गरिरहेको ट्राफिक प्रमुख हर्कबहादुर रावलले जानकारी दिए । उनले सडकको अवस्थालाई हेरेर सवारीको गतिलाई नियन्त्रित गर्न सवारी कार्ड लागू गरिएको बताए ।
सवारी दुर्घटनामा न्यूनिकरणका लागि टाईम कार्ड उपयुक्त भएपनि समय साक्षेप व्यवहारिक नबनाईदा सवारी साधानसँगै यात्रुले समेत हैरानी खेप्नु परेको छ । एक घण्टाको बाटो तय गर्न तीन घण्टा तोकिँदा अनावश्यक समय र पैसाको वर्वादी हुने गरेको पीडित बताउँछन् । सम्बन्धित सरोकारवालाले टाईम कार्डको नियमलाई समय सापेक्ष वैज्ञानिक तथा व्यवहारिक बनाउँदै सहज बनाउन तर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार ०९:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *