दुर्गम गाउँमा स्वास्थ्य शिविर, निशुल्क उपचार पाउँदा जनता खुशी

सुर्खेत, १२ असार ।
जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको तल्लु वगरमा पहिलो पटक निश’ल्क स्वास्थ्य शिविर भएको छ ।
नलगाड सेवा समाजको समन्वयमा पुनम फाउण्डेसन सुर्खेतले गरेको शिविरमा करिव एक हजार जनाको उपचार भएको छ ।


महिलाको पाठेघर खस्ने समस्या, वालवालिकालाई लक्षित गरी गरिएको शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डा. जानुका गैरे, सरस्वती वोहरा, निशाकिरण न्यौपाने, डिकेन्द्रदेव गिरी, हेमन्त रावल, हरिशंकर देवकोटा लगायतका स्वास्थ्यकर्मीले उपचार गर्नु भएको थियो ।
दुर्गम गाउँ भगवतिको तल्लु बगरमा निशुल्क स्वास्थ्य शिविर गर्न आग्रह गरिएपछि घर दैलोमै जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले दुर्गम गाउँमा पहिलो पटक शिविर आयोजना गर्न फाउण्डेसनले सहयोग गरेको अध्यक्ष पुनम विसीले जानकारी दिनुभयो ।


सुर्खेतमा क्रियाशिल जाजरकोटका पत्रकार प्रकाश पन्तको विशेष पहलमा पहिलो पटक दुर्गम स्थानका जनतालाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर गरिएको अध्यक्ष विसीले बताउनु भयो ।
शिविरको लागि नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत, नेपाल बाल पोली क्लिनिक, नविन ड्रग हाउस, गुरुङ नरसिह होम लगायतले औषधी सहयोग गरेको वताइएको छ ।


शिविरमा जाजरकोट डोल्पा र रुकुमका १ हजार जना महिला तथा बालबालिकाहरुले स्वास्थ्य उपचार पाएका छन । शिविरमा महिलाको पाठेघर, बालबालिकाको स्वास्थ्य जाँच लगायत अन्य रोगको परिक्षण गरिएको आयोजकले वताएका छन् ।  शिविरमा पाठेघर समस्या भएका २० जना भन्दा वढि महिलाहरुलाई अप्रेसनका लागि रिफर गरिएको डा. जानुका गैरेले बताउनु भयो ।


निशुल्क स्वास्थ्य शिविर भएपछि यस क्षेत्रका सर्वसाधारण निकै खुशी भएको स्थानीय रामबहादुर मल्लले उल्लेख गर्नुभयो ।
जाजरकोट सदमुकाम खलंगावाट करिव ३ दिनको पैदल दुरीमा रहेको तल्लु वगरमा पहिलो पटक स्वास्थ्य शिविर भएपछि आफुहरु निकै राम्रो सेवा लाभ लिएको स्थानियको भनाई छ ।


पत्रकार पन्तकै पहलमा पहिला २०७३ साल साल मंसिर ११ गते खगेनकोटको दल्लीमा पनि निशुल्क स्वास्थ्य शिविर भएको थियो ।


शिविरमा करिव १ हजार ५ सय भन्दा बढी सर्वसाधारणले सेवा लिएका थिए । जाजरकोटको दुर्गम ठाउँका जनताले सजिलै स्वास्थ्यको पहुँच पाउन नसक्ने भएकोले घरदैलोमै सेवा दिने उदेश्यले निशुल्क स्वास्थ्य शिविरको लागि पहल गरेको पत्रकार प्रकाश पन्तले बताउनु भयो ।

प्रकाशित मितिः १२ असार २०७४, सोमबार ११:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *