बद्री पन्त
जाजरकोट १३, साउन ।
भेरी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि जाजरकोटको नलगाड नगरपालिका र पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको सम्बन्ध जोडिएको छ । नदीमा पुल बनेपछि दुई नगरपालिकाका स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको छ । पुल बनेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् ।
पुल निर्माणले दुई गाउका बासिन्दालाई छिटो छरीतो आवजावतमा सहज हुनुका साथै राडिज्यूला क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई राहत पुगेको नलगाड नगरपालिका ८ का वडा अध्यक्ष गोविन्द शाहीले बताउनु भयो । पुल निर्माण पछि स्थानीय बासिन्दालाई २ घण्टा पैदल हिडेर वगारा र राडिज्यूला स्थित पुलबाट आवतजावत गर्नु वाध्यताको अन्त्य भएको अध्यक्ष शाहीले बताउनु भयो ।

पुल निर्माण पछि स्थानीयहरु विच भौगोलिक दुरीले मात्र हैन । भाइचारा र छिमेकको सम्बन्ध नजिकीएको छ । स्थानीय बासिन्दाको पौडी खेलेर नदी वारपार गर्नु पर्ने वाध्यता पनि हटेको स्थानीयको भनाइ छ ।
पुल निर्माण पछि जाजरकोटको मन्मै, मैदे, हलचौर, कायाखेत, मालुवातरा र रुकुमको दाजे, डाँफे, बटालागाउँका अधिकांश बासिन्दा लाभान्वित भएका छन् । डोलिडार आयोजनाको झोलुंङ्गे पुल कार्यक्रमबाट १ सय २५ मिटर लम्बाईको उक्त पुल २५ लाख लागतमा निर्माण भएको हो ।
त्यसैगरीे नलगाड नगरपालिका ४ र ३ सिस्नेरी स्थित झुमरा खोलामा झोलुंङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । लामो समय देखि खोलामा पुल नहुदा जोखिम मोलेर खोला वारपार गर्दै आएका साविकको लहँ र डाडागाउँ गाविसका बासिन्दालाई छिटो छरीतो आवजावतमा सहज भएको नलगाड नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मी रावलले बताउनु भयो । पुल निर्माण पछि स्थानीयलाई आवतजावत गर्न सहज भएको अध्यक्ष रावलले बताउनु भयो ।
पुल निर्माण पछि लहँको औल, सिमा, खालचौर, माजगाउँ तथा डाडागाउँको गुदाले कैनाबजार, टट्टा गाउँका बासिन्दा लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति जाजरकोटको झोलुंङ्गे पुल कार्यक्रमबाट १ सय मिटर लम्बाईको उक्त पुल ४० लाख लागतमा निर्माण भएको पुल निर्माण समितिका अध्यक्ष डिल्ली रावलले जानकारी दिनु भयो ।