बद्री पन्त
जाजरकोट २ असोज ।
नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल मंगलवार विहानै हातमा कुचो लिएर फोहर उठाउन निस्केपछि नजिक रहेका कर्मचारी, प्रहरी र स्थानियले पनि साथ दिदै सरसफाईमा जुटे । नगरप्रमुख सहितको टोलीले नलगाड नगरपालिकाको मुकाम रहेको दल्ली क्षेत्रमा सरसफाई गरेको हो ।
टोलीले तेस्रो संविधान दिवसको अवसरमा नगरपालिकाले नगरसरसफाई गरेको हो । टेलीले दल्ली, कालिमाटी, छेप्का, चिसापानीबैरीताल लगायतका क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, बाटोघाटो, नदि, खानेपानीका मुहान लगायतका क्षेत्रमा सरसफाई गरेको नगरप्रमुख रावलले बताउनु भयो । उहाँले नगरलाई स्वच्छ तथा सफा राख्नका लागी संविधान दिवसको अवसर पारेर सरसफाई अभियान थालिएको बताउनु भयो । स्थानियलाई जागरण गर्नको लागी प्रत्येक महिनाको एक दिन नगरसरसफाई गरिने नगरप्रमुख रावलको भनाई छ ।

घरआँगन र सार्वजनिक क्षेत्रमा सम्बन्धित निकायले अनिवार्य सरसफाई गर्ने र बाटोघाटो तथा सार्वजनिक स्थलमा अभियानको रुपमा सरसफाई गरि सुन्दर नगर बनाउने उहाँले बताउनु भयो । सार्वजनिक स्थलमा फोहर गर्ने कार्य जनचेतनाका माध्यमबाट रोक्ने गरि कार्य गरिने तर अटेर गरि जथाभावी फोहर फाल्ने कुरा नरोकिए कानुन बनाएरै भएपनि कारवाही गरिने नगर प्रमुखको भनाई छ ।