‘जनतालाई उत्पादनमूलक काममा नजोडी समृद्धि प्राप्त हुँदैन’ – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको संलग्नतामा विकास गर्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति कालिकोटको दोस्रो जिल्ला सभाको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहीले विकास कार्य डोनरले नभएर जनताले नै गर्ने बताएका हुन् । विकास र समृद्धिको अभियानमा जनतालाई गोलबद्ध गर्नुपर्ने उनले बताए ।

‘तपाईं हामीलाई जनताले सरकारमा पठाएका हुन्, हामी जनतातिरै फर्कनुपर्छ’ जनप्रतिनिधिलाई केन्द्रित गर्दै मुख्यमन्त्री शाहीले भने, ‘विकास अभियानमा दातृ निकायको भूमिका भनेको सहयोगीमात्र हुन्छ, जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पूरा हुँदैन।’ उनले नकारात्मक सोच र पुरानो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने बताए ।

कर्णालीको विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन जनप्रतिनिधिहरूलाई आग्रह गरे। ‘जनतालाई उत्पादनमूलक काममा नजोडी समृद्धि प्राप्त हुँदैन’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि, उद्योग, पर्यटन, जडिबुटीलगायतका क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्नुस्।’

कर्णालीको योजनावद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको भन्दै उनले अब नतिजामुखी र नमूना काम गर्ने विश्वास व्यक्त गरे। उनले प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताए।

प्रकाशित मितिः ११ मंसिर २०७५, मंगलवार ०६:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *