छोराको पर्खाइमा ज्यान जोखिमा

सिमकोट : ताँजकोट गाउँपालिका–२ कटेलगाउँकी ३५ वर्षीया शर्मिला जैशीका सात छोरी छन् । छोरा पाउनुपर्छ भन्ने घरपरिवारको दबाबले इच्छाविपरीत बच्चा जन्माउन बाध्य भएको उनको गुनासो छ । १६ वर्षमै बिहे गरेकी उनले भिडियो एक्सरेबाट छोरी भएको थाहा पाएपछि ३ छोरीको गर्भपतनसमेत गरिन् ।

हरेक वर्षजस्तै गर्भवती भएकी शर्मिलाले ज्यान जोखिममा राखेर अहिले पनि गर्भ बोकिरहेकी छन् । नेपालगन्जको एक क्लिनिकले भिडियो एक्सरेबाट गर्भमा छोरा छ भनेपछि उनी ११ औं सन्तानका रूपमा पेटमा छोरा हुर्काइरहेकी छन् ।

ताँजकोट–२ कटेल गाउँकी दाना जैशी पनि ३९ वर्षमा ८ सन्तानकी आमा बनेकी छन् । २० वर्षीया जेठी छोरी सौरीसँगै सुत्केरी भएकी उनले आठौं सन्तानका रूपमा छोरा जन्माएकी हुन् । उनलाई रगत बग्ने, ज्यान दुख्ने खान मन नलाग्नेजस्ता समस्याले सताएको छ ।

शर्मिला र दाना छोराको पर्खाइमा ज्यानकै बाजी थापेर सन्तान जन्माउने कटेल गाउँका प्रतिनिधि आमा मात्रै हुन् ।

५१ वर्षीया वैशागी जैशीलाई २ सन्तानभन्दा बढी जन्माउन मन थिएन । तर, लगातार ५ छोरी मात्रै जन्मेपछि छोराको पर्खाइमा ९ सन्तान जन्माउनुपर्‍यो । हरेक पटक सुत्केरी हुँदा आफू कम्तीमा २ पटक मृत्युको मुखबाट बचेको बताएकी वैशागीले आँसु झार्दै भनिन्, ‘हामी महिला त लोग्न्या ( श्रीमान्) को इच्छाअनुसार सन्तान जन्माउन्या मेसिन मात्रै भएछौं ।’ छैटौं सन्तानसम्म छोरी मात्रै जन्मेपछि सुत्केरीका बेला पूरा पेट खानसमेत नपाएको उनले बताइन् ।

उनको बीचमा एक सन्तान खेर गएपछि आठौं सन्तान जेठो छोरालाई जन्म दिइन् । ‘एक छोरा पुतालो क्या, एक आँखा अँखालो (दृष्टिवाल) क्या, छोरी अर्काको घर जाने एक छोराले मलाई ( श्रीमान्लाई), अर्को छोराले तँलाई ( श्रीमतीलाई) बुढेसकालको सहारा होला भनेर लोक्ने ( श्रीमान्) ले भनेपछि नौं (नवांै) पटक अर्को छोरा जन्माएँ’, उनले भनिन्, ‘छोरी पाउँदा एक छाक राम्रो खान नदिने लौग्न्या श्रीमान्) घरका (घरका मान्छे) ले छोरा जन्माउँदा एक लिटर गाईको घ्यू दिए ।’महिलाको स्वास्थ्य बिग्रेको भन्दा छोरा नजन्माएकोमा बढी चिन्ता समाजप्रति उनको गुनासो छ ।

छोरी जन्मँदा गाउँका सबैले फलानाकी जोई ( श्रीमती) त छोरा नपाउन्या रै’छ भनेर खुलेर कुरा काट्न थालेपछि जीवनको सहारा भनेका श्रीमान्बाट पनि कम माया पाएको ३५ वर्षीय शर्मिलाले अनुभव सुनाइन् ।

जुन काममा पनि छोराको मात्रै मान्यता दिने समाजमा महिलाले धेरै ठाउँमा मर्नुपरेको ताँजकोट–१ भैसाबाजकी नन्दकला खड्काले बताइन् । उनले भनिन्, ‘जबसम्म छोरीलाई पनि छोरासमान हलो जोत्ने, आमाबुवाको दागबत्ती बाल्नेदेखि बाहिरको काममा लगाइँदैन, तबसम्म छोराप्रतिको मोह कम हँुदैन ।’ गाउँमा छोरा नहुनेलाई अपुतो (अपुताली लाग्ने घरको) भनेर हेपेपछि घरबाट छोरा पाउन महिलामाथि थप दबाब पर्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘हामी मैला (महिला)को हण (शरीर) त मान्ठ (मान्छे) को पनि होइन ।’ ब्यान (बिहान) परी (भाले) ले डाको नहाल्दै (नबास्दै) देखि झमस्क रात नहुन्जेल काम गर्दा ज्यान पूरै मरेको मान्छेको जस्तो हुने उनले बताइन् । उनले भनिन्, ‘भौती (धेरै) छाचुरी (सन्तान) पाउँदा (जन्माउँदा) ज्यान पनि सकिँदै (कमजोर हुँदै)जाँदो रहेछ ।’

भिडियो एक्सरे गाउँमै राख्न माग

छोरीको पर्खाइमा सन्तान जन्माउँदै दिक्क भएका ताँजकोटका आमाहरूले सरकारले हरेक गाउँमा भिडियो एक्सरे राख्न माग गरेका छन् । समाज र घरपरिवारले जसरी पनि छोरा जन्माउन दबाब दिने भएपछि पेटमा बच्चा आउनेबित्तिकै भिडियो एक्सरे गरेर छोरी भए गर्भपतन गर्न सहज हुने उनीहरूले बताए । पेटमा बच्चा सानै हुँदा त्यति समस्या नपर्ने अनुभव गरेकी दाना जैशीले नेपालगन्ज, सुर्खेत जान समस्या हुने गरेकाले सरकारले पालिकामै एक्सरे तथा गर्भपतन गर्नेलगायत सुविधा ल्याउनुपर्ने बताइन् ।अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मितिः २४ मंसिर २०७५, सोमबार ०६:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *