राजा वीरेन्द्रको नाममा रहेको सुर्खेतस्थित जग्गालाई उपभोगमा ल्याइने तयारी सुरु गरिएको छ । त्यो जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । सुर्खेतमा राजा वीरेन्द्रको नाममा रहेको साढे ३४ बिघा जमिन छ । त्यसमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाएको वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले बताए ।
त्यो जग्गा आम्दानी हुने काममा लगाउनुपर्ने उनको भनाइ छ । ‘लामो समयसम्म प्रहयोगविहीन भएको पूर्वराजाको नाममा रहेको जग्गामा औद्योगिक क्षेत्र विस्तार गर्ने गरी छलफल अघि बढाएका छौँ, छिट्टै काम सुरु हुनेछ,’ मेयर सुवेदीले भने । यसका लागि नगरपालिकाले उद्योगी, व्यापारी, प्रदेश मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए ।
राजा वीरेन्द्र र राजपरिवारका सदस्यको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रस्टको संरक्षण र स्वामित्वमा रहने सरकारले ०६३ मै व्यवस्था गरेको थियो । तर, सुर्खेतस्थित राजा वीरेन्द्रको नाममा रहेको जग्गा ट्रस्टले अहिलेसम्म आफ्नो स्वामित्वमा लिएको छैन । राजा वीरेन्द्रको नाममा कोहलपुर–सुर्खेत रत्न राजमार्ग र भेरी नदीसँग जोडिएको साढे ३४ बिघा जमिन छ । यो सुर्खेत उपत्यकाको उच्च स्थानमा छ । बसोबासका लागि उत्तम स्थान मानिएको छ ।
‘श्री ५ महाराजधिराज सरकार’कै नाममा
मन्त्रालय तथा भूमिसुधार विभागको चलानी नं. २६५/०३३/०३४ को ३० चैत, ०३३ को पत्रअनुसार यो जग्गा राजा वीरेन्द्रको नाममा कायम गरिएको थियो । आदेशअनुसार, पत्रसँगै रहेको प्रिन्ट नक्सालाई सक्कल नक्सा मानेर तत्कालीन राजा वीरेन्द्रको नाममा जग्गा कायम गरिएको स्रेस्तामा उल्लेख रहेको नापी कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठले बताए ।
यसअघिको लाटीकोइली गाविस अहिले वीरेन्द्रनगरभित्र छ । नापी शाखाको तथ्यांकअनुसार, वीरेन्द्रनगर नगरपालिका–१० लाटीकोइली ४–(च) कित्ता नं.१ को ३४ बिघा सात कट्ठा पौने पाँच धुर (दुई लाख ३२ हजार सात सय २० वर्गमिटर) जग्गा २ वैशाख, ०३४ मा राजा वीरेन्द्रको नाममा कायम भएको थियो । अहिले पनि यसको ‘जग्गा धनीको नामः श्री ५ महाराजधिराज सरकार’ नै छ ।
राजदरबार बनाउन छनोट
सुर्खेत उपत्यकालाई अवलोकन गर्न सकिने यो ठाउँमा राजदरबार बनाउने गरी ०२९ मा जग्गा छनोट गरिएको थियो । त्यसमा क्षेत्रीय स्तरको दरबार बनाउने योजनाअनुसार जग्गा छुट्याएको सुर्खेत जिल्ला विकास समितिका पूर्वसभापति वसन्तकुमार थापाले बताए ।
उनका अनुसार, राजपरिवारले पश्चिम क्षेत्रको भ्रमणमा आउदा बस्न उपयुक्त हुने गरी दरबारको तयारी गरिएको थियो । ‘मध्य तथा सुदूरपश्चिमक्षेत्रको सम्पूर्ण विकास तथा प्रशासनिक कार्यको अनुगमन र मूल्यांकन गर्न पश्चिम क्षेत्रको भ्रमणका वेला राजपरिवारको बसोबासका लागि सुविधासम्पन्न क्षेत्रीय स्तरको दरबार स्थापना गर्ने कुरा चलेको थियो,’ पूर्वसभापति थापाले भने ।
सुर्खेत उपत्यकाको दक्षिण पूर्वी क्षेत्रमा रहेको यो जग्गा रत्न राजमार्ग र भेरी नदीसँगै जोडिएको छ । अहिले यो जग्गालाई देउती बज्यै सामुदायिक वन र शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गरिरहेका छन् ।
ल स्थानीय प्रशासन अनभिज्ञ
सरकारले ०६३ मा राजा वीरेन्द्र र राजपरिवारका सदस्यको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रस्टको संरक्षण र स्वामित्वमा रहने व्यवस्था ऐनमार्फत गरेको थियो । त्यो जग्गाको संरक्षण एवं सदुपयोगको निर्णय गर्ने अधिकार नेपाल ट्रस्टलाई दिइएको थियो ।
त्यस्तै, जिल्ला तहमा नेपाल ट्रस्टको नाममा रहेको जग्गा रेखदेख तथा संरक्षणको जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय हुने व्यवस्था गरेको छ । तर, सर्खुेतमा रहेको राजा वीरेन्द्रको जग्गाका विषयमा भने जिल्ला प्रशासन कार्यालय बेखबर छ । यहाँ रहेको ‘पूर्वराजपरिवारको जग्गाको उपयोग र संरक्षणका सम्बन्धमा अनभिज्ञ रहेको’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । यसका विषयमा सोधखोज गर्ने उनको भनाइ छ ।