कर्णाली प्रदेशमा उद्योगधन्दा एक प्रतिशत मात्रै

कर्णाली प्रदेशमा उद्योगधन्दा नगन्य मात्रामा हुँदा आर्थिक गतिविधि हुन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा आर्थिक गतिविधिमा कर्णाली पछाडि देखिएको हो ।

राष्ट्र बैंकले गरेको ‘संघीय संरचनामा आर्थिक गतिविधि’सम्बन्धी अध्ययनले कर्णालीमा औद्योगिक क्षेत्रको कमी र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा भएकोसमेत देखाएको छ । अध्ययनअनुसार कर्णालीमा एक प्रतिशत मात्रै उद्योगधन्दा रहेका छन् । मुलुकभर चार हजार ७६ वटा उद्योग रहेकोमा कर्णालीमा ४४ वटा मात्रै उद्योग सञ्चालनमा रहेको अध्ययनले देखाएको छ ।

देशभरि सञ्चालनमा रहेका उद्योगमा एक लाख ९४ हजार आठ सय ६७ जनाले रोजगार पाएका छन् । जब कि कर्णालीमा ती उद्योगबाट चार सय २४ जनाले मात्र रोजागरी पाइरहेको राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले बताए ।

२३ प्रतिशत मात्रै सिँचाइ
त्यस्तै, सिँचाइ सुविधाको हिसाबले पनि कर्णाली पछाडि देखिएको छ । देशको झन्डै २२ प्रतिशत क्षेत्रफल ओगट्ने कर्णालीमा खेतीयोग्य जमिन ७५ दशमलव ५ प्रतिशत छ । तर, खेतीयोग्य जमिनमध्ये २३ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा रहेको अध्ययनमा देखिएको छ ।

सिँचाइ सुविधा नहुँदा देशको कुल कृषि क्षेत्रको उत्पादनमा कर्णाली प्रदेशको ६ प्रतिशत मात्र योगदान रहेको पाइएको छ । जसले गर्दा नेपालीको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर हुँदा कर्णालीमा प्रतिव्यक्ति आय ६ सय ७७ मात्रै रहेको छ ।

सडक सञ्जालमा पनि पछाडि
नेपालभर ७० हजार चार सय ७४ किलोमिटर सडक सञ्जाल छ । कर्णाली प्रदेशमा भने तीन हजार ६ सय ६१ किलोमिटर मात्र सडक रहेको अध्ययनले देखाएको छ । जसमा चार सय ९० किलोमिटर सडकमा मात्रै कालोपत्रे गरिएको छ ।

यहाँका १० जिल्लामध्ये हुम्ला सदरमुकाममा केही समयअघि मात्र सडक सञ्जालले जोडिएको छ भने डोल्पामा अझै सडक सञ्जालबाट टाढै छ । जसका कारण कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको सबैभन्दा कम चार प्रतिशत मात्र अंश रहेको छ ।

आर्थिक रूपले सक्रिय जनसंख्या धेरै
आर्थिक गतिविधि न्यून रहेपछि आर्थिक रूपले सक्रिय जनसंख्या भने धेरै रहेको रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । देशको कुल जनसंख्याको ३९ दशमलव ९ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय रहेकामा कर्णालीमा ४१ दशमलव ४ प्रतिशत जनसंख्या सक्रिय रहेको देखिएको छ । यहाँका ७९ वटा स्थानीय तहमध्ये १७ स्थानीय तह अझै पनि वित्तीय संस्थाको पहुँचबाहिर रहेका छन् ।

वीरेन्द्रनगरमा संघीय संरचनामा आर्थिक गतिविधि अध्ययनसम्बन्धीको अन्तत्र्रिmयामा अध्ययन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले देशको कुल गार्हस्थ उत्पादनको प्रक्षेपणका लागि स्थलगत सर्वेक्षणमार्फत कृषि, उद्योग र सेवा क्षेत्रको यथार्थ अवस्था प्रक्षेपण गर्न आर्थिक गतिविधि अध्ययनको गरिएको बताए । ‘अर्थतन्त्रका विभिन्न क्षेत्रबाट आवश्यक सूचना र तथ्यांक संकलन गरी आर्थिक समस्याको पहिचान गर्न अध्ययन प्रभावकारी भएको छ,’ निर्देशक न्यौपानेले भने, ‘भौगोलिक क्षेत्रको आधारमा उत्पादनका सम्भावना पहिचान गर्न सजिलो भएको छ ।’

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीयताबाट फाइदा लिन नसकेको बताए । ‘गाउँगाउँमा सिंहदरबारको नारा त दियौँ, तर त्यहीअनुरूप शक्ति विकेन्द्रीकरण गर्न सकिरेहका छैनौँ,’ मन्त्री ज्वालाले भने । उनले नेपाल राष्ट्र बैंकलाई संघीय संरचनाअनुसार सेवा प्रवाहको वातावरण बनाउनुपर्ने बताए । नयाँ पत्रिकाबाट

प्रकाशित मितिः ७ पुष २०७५, शनिबार १४:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *