जाजरकोट — विगतमा फागुनमा फुल्ने लालीगुराँस यो वर्ष मंसिर–पुसमै ढकमक्क भएको छ । जलवायु परिवर्तन प्रभावका कारण केही वर्षयता लालीगुराँस छिट्टै फुल्न थालेको हो । लालीगुराँस फुल्न लागेसँगै यहाँका जंगल राताम्मे बन्न थालेका छन् ।
कुशे गाउँपालिका ५, पाँचकाटियाको जंगलमा पहिले नै लालीगुराँस फुलेको हो । १/२ महिनामै गुराँस फुलेपछि स्थानीय अचम्मित बनेका छन् । करिब २ हजार मिटर उचाइमा रहेका पाँचकाटिया, कर्कले, कोदारीलगायत जंगलमा लालीगुराँस ढकमक्क फुलेका छन् ।
प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने डिभिजन वन कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर चन्दले बताए । ‘केही जलवायु परिवर्तनको प्रभाव हो, केही प्रजाति विशेषता हो,’ उनले भने, ‘विभिन्न कारणले फूल्ने समयमा फेरबदल भइरहेको हो ।’
उनले अध्ययनपछि मात्र सबै कुरा पत्ता लाग्ने जनाए । समुद्र सतहबाट १ हजार ३ सय मिटरदेखि ३ हजार मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन र चैत महिना भएको चन्दले बताए । तर पछिल्लो समय जलवायु परिवर्तनले मंसिर र पुसमै लालीगुराँस फुल्न थालेको उनको भनाइ छ ।
३० वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको वन प्राविधिकहरूको भनाइ छ । ‘समुद्री सतहको वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु जलवायुजन्य परिवर्तन हो,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण बोटबिरुवा मात्र हैन, मानिसलगायत प्राणीमा पनि विभिन्न परिवर्तन देखा पर्छन् ।’ उनले न्यूनीकरणमा समयमै ध्यान नदिए बोटबिरुवा र प्राणी संकटमा पर्ने अवस्था आउने जनाए ।
वन प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण पृथ्वीको औसत तापक्रम बढ्दै गएको छ । सन् १९९२ मा ब्राजिलको रियो दि जनेरियोमा भएको पृथ्वी सम्मेलन–जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले हस्ताक्षर गरेको थियो ।
त्यसैगरी नेपालले जलवायुजन्य प्रकोपको न्यूनीकरण गर्ने उद्देश्यले जलवायु परिवर्तन नीति–२०६७ पनि पारित गरिसकेको चन्दको भनाइ छ । उनका अनुसार जलवायुको असरलाई न्यूनीकरण गर्न सरकारले विभिन्न सम्मेलन, योजना तथा कार्यक्रम अघि बढाएको छ ।
उनले जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैरसरकारी संस्थाले प्रभाव न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाए ।कान्तिपुरबाट