ओझेलमा चमेरे गुफा

बद्री पन्त
जाजरकोट २४, पुस
जाजरकोटको भेरी नगरपालिका १, पिपे मैदे गाउँमा रहेको सेतो चमेरे गुफा ओझेलमा रहेको छ । आवश्यक अध्ययन, प्रचारप्रसार र संरक्षण अभावले गुफा ओझेलमा परेको हो ।
गुफाको अध्ययन र प्रचारका लागि स्थानीयबासी सक्रिय भएपनि यथोचित विकास भने हुन नसकेको हो । आफ्नै गाउँघरमा पर्यटक आकषिर्त गर्न सक्ने गुफा र मनोरम स्थल भए पनि संरक्षण र प्रचारप्रसार हुन नसकेको वडा अध्यक्ष दिपक रानाले बताउनु भयो । यो गुफाको अर्को प्रवेशद्वार वडा २, साउनेपानीस्थित ७ किलोमिटर टाढाको दुलेगुफा रहेको छ अध्यक्ष रानाले भन्नु भयो ।


तत्कालीन जाजरकोटी राजाको सिकार खेल्ने कुकुरले मृग लखेट्दै दुले गुफाबाट पसेर मैदेको यस गुफाबाट निस्केपछि यो गुफा पत्ता लागेको किम्वदन्तीमा उल्लेख रहेको छ, उहाँले भन्नु भयो । उक्त गुफामा हजारौं चमेरा बास बस्ने भएकाले चमेरे गुफा नाम रहन गएको पनि भनिन्छ । तिब्बतबाट लामाहरू भारत भाग्ने क्रममा बौद्ध मन्दिरका रूपमा गुफाको पूजाआजा गर्ने गरेको पनि रानाले बताउनु भयो ।
गुफा संरक्षण तथा आवश्यक प्रचारप्रसारको कमीले ओझेलमा परेको भन्दै अध्यक्ष रानाले यसको लागि पहिले गुफासम्म जानालाई सहज बाटो, खानेपानी, गुफाभित्र विजुली बत्तीको व्यवस्था गर्न सकेमा पनि आन्तरीक तथा बाह्य पर्यटक आउन सक्ने बताउनु भयो । यो गुफा जानालाई जाजरकोट डोल्पा सडकको पिपेबाट २ घण्टा पैदल दुरीमा रहेको छ ।


गुफा संरक्षणका लागि साविकको खलंगा गाउँ विकास समितिको आर्थिक रकमबाट गुफाको प्रवेशद्धार र निस्कनेद्धारमा फलामे चयन गेट, भित्र दुई स्थानमा फलामे भरयाङ्ग, बुद्धको मुर्ती, सिडि बनाइएको स्थानीय कृष्णराज विकले बताउनु भयो । गुफा भित्र जादा अर्कै आनन्द आउने गरेको छ विकले भन्नु भयो ।
सञ्चारकर्मीलाई साथीहरुले गुफाको प्रचारप्रसार गरीदिएमा आन्तरीक तथा बाह्य पर्यटक आउने उहाँले भन्नु भयो । सवैले यस गुफाको अवलोकन गरिदिन उहाँले आग्रह गर्नु भयो । यस गुफा भित्र ५ सय बढी मान्छे बस्न मिल्छ विकको भनाई छ । गुफा भित्र रहेका विभिन्न बस्तु तथा आकृतीले मान्नेको मनै लोभ्याउने गर्छ ।
त्यसैगरी नगरकापालिका २ बाहुथाना नजिकै रहेको सिद्धबाबा बसेको ऐतिहासिक साङटा गुफा पनि प्रचारप्रसार अभावले ओझेलमा परेको छ । यो गुफा १७ सय सालताका जाजरकोटी राजाले गुरु मानेर पूजाआजा गर्ने सिद्धबाबालाई रिझाउन राजा हरि शाह र उनका सन्तानले दरबारमै बस्न गरेको आग्रहलाई इन्कार गर्दै सिद्धबाबाले यसै गुफालाई आफ्नो ध्यान स्थल बनाएको स्थानीय बुढापाकाहरु बताउ छन ।


गुफाको संरक्षण गर्न पर्यटन मन्त्रालय र पहिलेको जिल्ला विकास समिति, गाविसको १० लाख रकमबाट भक्तजनले भजन गर्ने घर र गुफासम्म पुग्न सिंढी निर्माण गरिएको छ । अध्ययन, प्रचारप्रसार र संरक्षण अभावले यो गुफा पनि ओझेलमा परेको छ ।
पुरातत्त्व विभागमा सूचीकृत दशेरा फाल्मा गुफा पनि संरक्षण अभावमा अलपत्र छ । जिल्लाका विभिन्न ५ स्थानमा पर्यटकको मनै लोभ्याउने गुफा रहेका छन् । सबै गुफाको पहिचान पहिले नै भए पनि चर्चामा आउन सकिरहेका छैनन् । विभिन्न ठाउँमा रहेका गुफामा छेडागाड फाल्माको बाङकोट गुफा, नलगाडको डाँडागाउँ छेप्काको त्रिवेणी गुफा, भेरी नगरपालिकाका साङट गुफा, भुन्या गुफा र मैदेको चमेरे गुफा रहेको स्थानीय जानकार ढकवीर रानाले बताउनु भयो । यी गुफाहरुको उचित संरक्षण गर्न स्थानीय, प्रदेश तथा संघिय सरकारले विशेष जोड दिनु पर्ने रानाको भनाइ छ । मान्छेहरु हजारौं रुपैंया खर्च गरेर गुफा हेर्नकै लागि पोखरा स्थित महेन्द्र गुफा र चमेरे गुफा पुग्ने गरेको रानाले बताउनु भयो । जाजरकोटमै ५ वटा गुफा ओझेलमा छन । यी गुफाको संरक्षण विकास तथा प्रचारप्रसार हुन सकिरहेको छैन, दुखको कुरा एही छ, रानाले भन्नु भयो ।

प्रकाशित मितिः २४ पुष २०७५, मंगलवार ११:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *