काठमाडौँ, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि हिजो सरकारले प्रतिबन्ध घोषणा गरेसँगै नेता, कार्यकर्ताहरु भूमिगत हुन थालेका छन् । विप्लव यसअघि नै अर्धभूमिगत भइसकेका थिए । यता प्रहरी भने नेकपाका गतिविधिमाथि नियन्त्रण गर्न नेता कार्यकर्ताहरुको खोजीमा जुटेको छ ।
प्रहरीले नेकपाको संगठन संरचनाबारे सूचना संकलन गरिरहेको बताएको छ । प्रहरीकाअनुसार विप्लव नेकपाको सांगठनिक संरचना यस्तो छ : विप्लव नेकपाको महासचिवमा नेत्र विक्रम चन्द विप्लव छन् । प्रवक्तामा खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ छन् । प्रकाण्ड पूर्वमन्त्री समेत हुन् । विप्लव र प्रकाण्डसहित नेकपाको ५ सदस्यीय हाइकमाण्ड छ । जसमा हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर छन् ।
उक्त समूहले देशभर ३ ओटा कमाण्ड बनाएको छ । मध्य केन्द्रीय कमाण्ड ईन्चार्जमा हेमन्त प्रकाश ओली (सुदर्शन), पुर्वी कमाण्ड ईन्चार्जमा अनिल शर्मा (विरही) र पश्चिम कमाण्ड ईन्चार्जमा धर्मेन्द्र बास्तोला (कंचन ) र सह–ईन्चार्जमा ओम प्रकाश पुन (निर्माण) रहेको जनाइएको छ ।
यी तीनओटा कमाण्डमध्ये १७ ओटा ब्यूरोहरु खडा गरिएको छ । जसमा कोशी ब्युरो (सुनसरी, भोजपुर, मोरङ र धनकुटा)को इन्चार्जमा पुष्कर श्रेष्ठ रहेका छन् । मेची ब्युरो ( झापा, इलाम, पांचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम)को इन्चार्जमा सुमन लिम्बू, सगरमाथा ब्युरो (खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुर)को इन्चार्जमा दिपेश राई रहेका छन् ।
त्यस्तै, जनकपुर ब्युरो (धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली)को इन्चार्जमा सन्देश पौडेल, पुर्वी ताम्सालिङ ब्युरो (दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे)को इन्चार्जमा नन्द बहादुर बुडा मगर (बिजय) र नारायणी ब्युरो (बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन)को इन्चार्जमा चेत बहादुर पुन (चिरण) रहेका छन् ।
त्यस्तै, पश्चिम तामसालिङ ब्युरो (रसुवा, नुवाकोट र धादिङ)को इन्चाजमा मोहलाल चन्द (आधार), उपत्यका ब्युरो (काठमाडौं, भक्तपुर र ललितपुर)को इन्चार्जमा प्रज्वल श्रेष्ठ, गण्डक ब्युरो (गोर्खा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ र स्याङ्जा)को इन्चार्जमा सावित्री दुरा (आस्था), लुम्बिनी ब्युरो (नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी)को इन्चार्जमा चन्द्र बहादुर चन्द (विरजंग), धवलागिरी ब्युरो (म्यादी, बागलुङ, पर्वत, सल्यान)को इन्चार्जमा धुर्व घिमिरे रहेको जनाइएको छ ।
यसैगरी, राप्ती ब्युरो (दाङ, प्युठान, रोल्पा, रुकुम, पुर्वी रुकुम र सल्यान)को इन्चार्जमा केस बहादुर बुढा, सेती ब्युरो (अछाम ,डोटी, बाजुरा, कैलाली र बझाङ)को इन्चार्जमा शंकर बहादुर खडका (सिकन्दर), कर्णाली ब्युरो (डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु)को इन्चार्जमा खम्बा बुढा (एटम बीसी) रहेका छन् ।
त्यस्तै, भेरी ब्युरो (बाँके ,बर्दिया, दैलेख, जाजरकोट सुर्खेत)को इन्चार्जमा बल बहादुर अलि र महाकाली ब्युरो (दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर) इन्चार्जमा राम प्रसाद तिमल्सिना रहेका छन् । अन्तर्राष्ट्रिय ब्यूरोको इन्चार्जमा भने धर्मेन्द्र बास्तोला (कंचन) रहेको बताइएको छ ।दैनिक नेपालबाट साभार