वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिका-१०, बेलघारीकी एकीला मियाँले ११ वर्षको उमेरमा विवाह गरिन् । दैलेखमा विवाह गरेकी एकीलालाई केही वर्षपछि पतिले तलाक दिए । उनले पाँच वर्षअघि सुर्खेतका अर्का पुरुषसँग दोस्रो बिहे गरिन् । बिहेपछि एकीलाई सामान्य झगडाका कारण दोस्रो पतिले पनि तलाक दिए । तेस्रो विवाहमा समेत तलाक पाएकी उनी अहिले तेस्रो पतिसँगै फर्किएकी छिन् ।
सामान्य झगडाकै कारण पनि पुरुषले तलाक दिने मुस्लिम समुदायको बेलघारी गाउँमा चार वर्षदेखि भने तलाक हुनै छाडेको छ । करिब पाँच वर्ष अगाडिसम्म ६/६ महिनामा तलाक हुने गरेकोमा केही महिलाको अगुवाइमा आफूखुसी तलाक दिने परम्परा शुन्य भएको हो । सबैको साथ सहयोगबाट तेस्रो पतिसँग पुनः सम्बन्ध जोडिएकी एकीला भन्छिन्, ‘अहिले सम्बन्ध राम्रै छ, घरपरिवार राम्ररी चलाइरहेका छौं ।’ गाउँमा एक सय १० घरधुरी मुस्लिम समुदायको बसोवास छ ।
बेलघारीकै ४६ वर्षीया जमीला बिबी पनि तलाककै कारण तीनवटा विहे गर्न बाध्य भइन् । २०४५ सालमा पहिलो विहे गरेकी जमीलाका पतिले दोस्रो बिहे गरेपछि गाउँमै पहिलोपटक अदालती प्रक्रियाबाट उनले सम्बन्ध विच्छेद गरिन् । ‘उसले २५ सय रुपैयाँ दिएर तलाक दियो,’ उनी भन्छिन्, ‘मैले अदालतमा मुद्दा दिएपछि कानुनी प्रक्रियाबाटै सम्बन्धविच्छेद भयो ।’ फेरि २०४८ सालमा दोस्रो बिहे गरेकी जमीलालाई पतिले छाडेर गएको १० वर्षपछि उनले तेस्रो बिहे गरिन् ।
चार वर्षअघि गाउँकै सैयदा वानुका पतिले पनि उनलाई सामान्य झगडापछि तलाक दिए । तलाकपछि उनले कानुनी बाटो अपनाउने सोच बनाइन् । ‘मेरो इच्छाविपरित तलाक दिएर छुट्टनि बाध्य पार्नु ममाथि हिंसा भएको हो,’ सैयदाले भनिन्, ‘ममाथि हिंसा गरेको अभियोगमा उस्लाई मैले कारागार चलान गरेँ ।’ बेलघारीमा २०५२ सालदेखि स्वयंसेविकाको रुपमा सामाजिक कार्य गरिरहेकी खैरुन निशाको अगुवाईमा एक जनालाई कानुनी कारवाही गराउन सफल भएको महिलाको भनाइ छ । चार वर्षअघि एक जनालाई कानुनी रुपमै कारवाही भएपछि पुरुषसमेत सम्बन्ध बिच्छेद विरुद्ध सचेत बनेका छन् ।
गाउँमा करिब ३० वर्षको अवधिमा दुई जनाको मात्रै कानुनी प्रक्रियाबाट सम्बन्धविच्छेद भएको अगुवा खैरुन निशाले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म करिब १० जोडी तलाकपछि पनि मिलेर बसेका छन् । ‘तलाक भए पनि मिलेर बस्नुपर्ने बाध्यता छ,’ उनी भन्छिन्, ‘नचाहेरै पनि बालबच्चाका लागि सम्झौता गर्नैपर्ने हुन्छ ।’
तर विस्तारै कानुनी ज्ञान तथा शिक्षित महिलाको अगुवाइमा केही वर्षदेखि तलाक नै नभएको खैरुनको भनाइ छ । ‘तलाकका कारण महिलाले हिंसा भोग्नुपरेको छैन,’ उनी भन्छिन्, ‘कानुनले यस्लाई मान्यता दिँदैन भन्ने कुरा अहिले सबैले बुझेका छन् ।’ उनका अनुसार मुस्लिम समुदायमा पुरुषले सामान्य झगडा भए पनि तलाक भनेर पत्नीलाई छुट्टनि बाध्य पार्ने प्रचलन छ । यसरी छुट्टएिपछि महिलाले कुनै क्षतिपूर्ति पनि पाउँदैनन् । तलाकपछि पुनः मिल्न चाहेमा परपुरुषसँग सम्बन्ध राखेर मात्रै मिल्न पाइने परम्परा मुस्लिम समदायमा छ । केही वर्षअघि स्वयमसेविका खैरुन एक्लैले तलाकविरुद्धको अभियान सुरु गर्दा आफूलाई सामाजिक वहिस्कारसमेत गरिएको गुनासो सुनाइन् ।
अहिले यहाँका पुरुषले पनि महिलाले सुरु गरेको अभियानलाई साथ दिएका छन् । ‘सम्बन्धमा बस्न मन नभए कानुनी प्रक्रियाबाटै छुट्नुपर्दो रहेछ भन्ने चेतना महिला अभियानकै कारण थाहा पाइयो,’ स्थानीय मोहम्मद इसाकदिन भन्छन्, ‘छुट्टिनेबेला महिलालाई क्षतिपूर्ति दिनुपर्छ भन्ने थाहा पायौँ ।’ मनपरी रुपमा महिनैपिच्छे तलाक दिने परम्परा रहेको समुदायमा अहिले महिला हिंसा पनि घटेको उनी बताउँछन् । उनका अनुसार स्थानीय महिला विभिन्न पेशा, व्यवसायमा आवद्ध हुन थालेका छन् ।