नेपालमै पहिलो पटक पश्चिम नेपालको एउटा बहुउद्देश्यीय आयोजनामा मेसिन प्रयोग गरेर पूर्ण सुरुङ खन्ने काम लगभग सम्पन्न भएको सरकारी अधिकारीहरूले बताएका छन्।
नेपालमै पहिलो पटक प्रयोग गरिएको सुरुङ खन्ने विशाल उपकरण, टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण गरिएको हो।
उक्त सुरूङ खन्ने काम लगभग सकिएको अधिकारीहरुले बताएका छन्। उनीहरूका अनुसार सुरुङ निर्माण सम्पन्न भएको घोषणा गर्न भने बाँकी छ।
कार्यक्रम
त्यसका लागि २ मिटर खन्ने काम बाँकी राखिएको र आगामी वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गर्ने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन्।
उक्त सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर वर्षैभरि करिब ४७ मेगावाट विद्युत निकाल्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
विभिन्न आशंकाहरूबीच भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलो पटक सुरुङ खन्नका लागि टीबीएम प्रयोग गर्ने निर्णय भएको थियो।
१२ किलोमिटर लामो उक्त सुरुङमार्ग खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीले गत वर्षको कार्तिक २० गते देखि उक्त मेसिन प्रयोगमा ल्याएको थियो।
अर्को वर्षको चैतमा सकिने अनुमान गरिएको भएपनि सुरुङ खन्ने काम एक वर्ष अगाडि नै सकिएको अधिकारीहरूले बताए।

घोषणा सभा
वैशाख ३ गते निर्माण सम्पन्न भएको घोषणा गर्नका लागी हाललाई २ मिटर सुरुङ खन्न बाँकी राखिएको र अन्य सबै काम सकिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए।
उनले भने “हामीले २०७४ कार्तिक २० गतेबाट सुरुङ निर्माण गर्नका लागि टीबीएम मेसिन प्रयोग गरेका हौँ। सम्झौता अनुसार २०७६ चैत १५ गतेसम्म समय थियो। तर अहिले नै २ मिटर मात्र बाँकी राखेर अरु खन्ने काम सम्पन्न भएको छ।”
आगामी वैशाख ३ गते भने विकास आयोजनाका लागि प्रविधि प्रयोग गरेर काम सम्पन्न भएको ऐतिहासिक दिन हुने भएकाले घोषणसभामा प्रधानमन्त्री सरिक हुने कार्यक्रम तय भएको अधिकारीहरू बताउँछन्।
उक्त सुरुङ मार्गबाट प्रति सेकेन्ड ४० क्यूबिक मिटर (क्यूमेक) पानी बबई नदीमा झर्ने छ।
विद्युत आयोजनको निर्माण सकिनु अघि भने केही मात्रामा मात्र पानी बबई नदीमा झारिने आयोजना प्रमुख बरालले बताए।
उनले भने “आगामी सुख्खा मौसममा भेरीको ८ क्युमेक पानी सुरुङ प्रयोग गरि बबईमा झार्नका निम्ति काम गरिरहेका छौँ। प्राविधिक रूपले सबै अध्ययन गरेर हामीले यसलाई सफल बनाउन लागेका छौँ।”
त्यसले आयोजनाको सबै काम पूरा हुनुभन्दा अघि नै सिंचाइमा सघाउ हुने बताइएको छ।
सुरुङमार्ग खन्ने क्रममा त्यहाँको भूगोलका कारण २ वटा स्थानमा समस्या आउन सक्ने पूर्वानुमान गरिए पनि त्यस्तो ठूलो समस्या नआएकोले काम निर्धारित समय अगावै सम्पन्न हुन लागेको अधिकारीहरू बताउँछन्।

बबईबाट पसेको मेसिन भेरी किनारमा निस्किने
आगामी वैशाख ३ गते बबई किनारबाट पसेको टीबीएम मेसिन भेरी किनारमा निस्किने छ।
उक्त सुरुङ खन्नका लागि साढे १० अर्ब रूपैयाँ बजेट छुट्ट्याइएको थियो।
तर सबै बजेट खर्च नभएको अधिकारीहरुको भनाइ छ।
सुरूङ खन्ने काम सकिएसँगै विद्युत आयोजना निर्माणको काम अगाडि बढाइएको र आगामी सातासम्म बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ।
जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडीले यो सफलताले आफूहरूलाई उत्साही बनाएको बताइन्।
उनले भनिन्, “सुरुवाती चरणमा सफल हुन्छौँ कि हुँदैनौँ भन्ने चिन्ता थियो। अब यो सफल हुनाले प्रविधिको प्रयोगको क्षेत्रमा एउटा नयाँ आयाम बन्यो भन्ने लागेको छ। अन्य यस्तै आयोजना निर्माण गर्दा मेसिन प्रयोग गर्ने बाटो खुलेको छ।”

अन्य ठाँउमा पनि मेसिन
भेरी-बबई बहुउद्देश्यीय आयोजनामा प्रयोग भएको टीबीएम मेसिन अर्को आयोजनमा पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको उनले बताइन्।
तर उक्त मेसिन फेरी प्रयोग गर्नका लागी त्यस्तै खाले ठूलो आयोजना हुनुपर्ने बताइन्छ।
विभागले सुनकोशी-मरिन लगायतका अन्य २ वटा डाईभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गर्ने कि भन्ने छलफल भइरहेको जनाएको छ। बीबीसी नेपाली सेवाबाट साभार