जाजरकोटमा ६८ वटा योजना अधुरै

बद्री पन्त
जाजरकोट १ बैसाख ।
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय खारेज भएपछि संरचनाको पुनर्निर्माण कार्य अलपत्र परेका हुन् । मन्त्रालयले आर्थिक वर्ष ०६४ र ६५ देखि ०७२ र ७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालय मार्फत काम गरेको थियो ।


मन्त्रालयको ‘पीवान’ अन्तर्गतको पुनर्निर्माण तथा पुनस्स्थापना शीर्षकका ६८ वटा भौतिक संरचना अलपत्र अवस्थामा छन । पछिल्लोपटक मन्त्रालय खारेज भएको र स्थानीय तहले ती संरचनामा बजेट विनियोजन नगर्दा संरचना भत्किने अवस्थामा पुगेका छन । शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि जिल्लाका ३४ वटा विद्यालय भवन, ७ वटा साबिक गाविस (हाल वडाभवन), ६ वटा शहिद स्मृति प्रतिष्ठानको भवन, ९ वटा खानेपानी योजना, ४ वटा जडिबुटी उत्पादन केन्द्र, ३ वटा सामुदायीक भवन, १ वटा सडक, १ वटा सिचाई, १ वटा मन्दिर अधुरै छन् ।
यस्तै १ वटा विद्युत आयोजना, १ वटा ढल निकास योजना अलपत्र परेका छन् । विद्यार्थीले विद्यालय भवन र कक्षाकोठा अभावमा समस्या भएको लक्ष्मि प्रात्ती माद्यामिक विद्यालय कुशे ५ खुर्पाका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताउनु भयो ।
वडा कार्यालयहरू भने भाडाका घरमा सञ्चालित छन् । निर्माणाधीन संरचना पूर्ण नहुँदा समस्या भइरहेको जनप्रतिनिधिको गुनासो छ । साबिकका दशेरा, साल्मा, पजारु, मजकोट, सुवानाउली गाविस भवनको निर्माण कार्य अलपत्र छ । भवन निर्माणको काम अन्तिम चरणमा आउने बेला बजेट नआएपछि संरचना जीर्ण बन्न थालेका छन ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि ३४ विद्यालय, ७ साबिक गाविस भवन, ६ स्मृति प्रतिष्ठानको भवन, ९ खानेपानी योजना, ४ जडिबुटी उत्पादन केन्द्र, ३ सामुदायीक भवन, १ सडक, १ सिचाई, १ मन्दिर, १ विद्युत, १ ढल निकास लगाएत आयोजना अलपत्र ।

द्धन्दोत्तर कार्यक्रम अन्तर्गत भेरी नगरपालिका १ को पिपे स्थित १ करोड लागतको नयाँ वस्ती पिपे मैदे बडालेख सडक र ५० लाख लागतको रिम्ना सिचाई कुलो निर्माण आयोजना निर्माण अपलपत्र परेको छ । यी दुवै योजनाको आधा रकम खर्च भइ सकेको छ । बाँकी रकम नआउदा योजना निर्माण काम अधुरो रहेको छ । यसैगरी थर्पु माद्यामिक विद्यालय कुशे ५, ढिमे, लक्ष्मी प्राप्ती माद्यामिक विद्यालय कुशे ५ खुर्पा लगाएत ३४ विद्यालय भवन निर्माण कार्य अलपत्रै परेको छ ।
यी भवनको काम कतिको जग, डिभिसी, पिल्लर सम्मको काम भएको छ भने रकम नआउदा भवन निर्माण अलपत्र परेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । स्थानीय तहसंग वजेट नभएको भन्दै संघिय सरकारले वजेटको व्यवस्थापन गर्नु पर्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
जिल्ला प्राविधिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा पनि ती संरचना निर्माणका लागि बजेट आएको थियो । तर, स्थानीय तहले अधुरा रहेका आयोजनामा बजेट विनियोजन नगरेपछि निर्माणाधीन संरचना अलपत्र परेका हुन् । पुन निर्माण तथा पुनस्र्थापना कार्यक्रमका २७ आयोजनाको लागि ६ करोड ५८ लाख रकम मध्य २ करोड २४ लाख खर्च भइ सकेको छ ।
शान्तिका लागि विकास कार्यक्रमका ३९ आयोजनाको लागि ६ करोड ८५ लाख रकम मध्य २ करोड ४७ लाख रकम खर्च भइ सकेको छ । द्धन्दोत्तर कार्यक्रमको २ वटा आयोजनाका लागि १ करोड ५० लाख रकम मध्य ५७ लाख रकम खर्च भइ सकेको छ । भने ६८ वटा आयोजनाका निर्माणको लागि ७ करोड ४० लाख रकम अभाव भएको छ ।
अधुरा रहेका संरचना निर्माण गर्न प्रदेश तथा संघीय सरकारसंग रकम माग गरे पनि कुनै सुनुवाइ नभएको जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले बताउनु भएको छ । यसरी बनिसकेका संरचना भत्कनुभन्दा थोरै बजेट लगानी गरेर त्यसलाई काममा लगाउनेतर्फ सरोकारवाला निकायले जोड दिनु पर्ने देखिन्छ ।

प्रकाशित मितिः १ बैशाख २०७६, आईतवार ०६:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *