तिला–२ स्वदेशी लगानीमा बन्ने, कम्पनीलाई विद्युत् निर्यातको अनुमति

आकाश तारा बयक
सुर्खेत, ११ भदौ ।
कालिकोटमा रहेको तिला नदीमा निर्माण हुने भनिएकोे तिला–दोस्रो विद्युत् परियोजना स्वदेशी कम्पनीले बनाउने भएको छ । ४ सय २० मेगावाट क्षमताको उक्त परियोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै एससी पावर कम्पनी प्रालि उद्योग विभागमा दर्ता भएको हो ।
उद्योग विभागले गत साउन ३० गते उक्त कम्पनीको दर्ता स्वीकृत गरेको छ । कम्पनीले विभागमा पेश गरेको विवरणमा ४१ अर्ब ४० करोड रुपैयाँ स्थिर तथा ७० करोड ६६ लाख रुपैयाँ चालू पूँजी रहेको उक्त कम्पनीले आयोजनामा कुल लगानी ४२ अर्ब १० करोड ६६ लाख रुपैयाँ गर्ने उल्लेख छ । यद्यपि, विद्युत् विकास विभागमा तिला दोस्रो परियोजनाका लागि निवेदन दिएको उक्त कम्पनीले विद्युत् उत्पादन अनुमतिपत्र भने प्राप्त गरिसकेको छैन ।
MId6Wjj.DunaiJumla643यसअघि २०७१ मङ्सिरमा उक्त परियोजना निर्माणका लागि औद्योगिक प्रवर्द्धन बोर्डले विदेशी लगानी स्वीकृत गरेको थियो । उद्योग विभागले गएको असार ३१ मा उक्त परियोजनाका लागि स्वीकृत विदेशी लगानी निष्क्रिय रहेको भन्दै नेपाली लगानीकर्ताका नाममा दर्ता गर्न दिने निर्णय गरेको थियो । यसअघि तिला हाइड्रो कम्पनीको नाममा विभागमा दर्ता गरिएको थियो ।
तर, गतवर्ष मात्रै अमेरिकन इन्भेष्टमेण्ट बैंकले तिला पहिलो (४४० मेगावाट) र दोस्रो (४२० मेगावाट) गरी दुबै परियोजना निर्माण गर्ने बताउँदै आएको उक्त कम्पनीको ७० प्रतिशत स्वामित्व खरीद गरेको थियो । एससी कम्पनी बास्तोला अर्गनाइजेशन र भारतीय लगानीकर्ताद्वारा संयुक्तरुपमा प्रवद्र्धित कम्पनी हो । बास्तोला अर्गनाइजेशनका सीईओ रामचन्द्र बास्तोला हुन् ।
आयोजनाको सर्वे अनुमति एससी कम्पनीको नाममा जारी भएको थियो । उत्पादन अनुमति छुट्टै कम्पनीको नाममा जारी गर्न नमिल्ने भएपछि सोही नाममा कम्पनी उद्योग विभागमा दर्ता गरिएको हुनसक्ने विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराज अधिकारी बताउँछन् । ‘आयोजनालाई विद्युत् निर्यातको सहमति यसअघि नै दिइसकिएको छ,’ उनले भने, ‘हालको अवस्थामा आयोजनाले उत्पादित बिजुली निर्यात गर्नसमेत सक्ने हुन्छ ।’
कम्पनीले तिला पहिलो परियोजनाका लागि समेत विद्युत् उत्पादन अनुमतिपत्र पाइसकेको छैन । विद्युत् खरीद सम्झौता, जडान सम्झौतालगायत आधारभूत प्रतिवेदन पेश नभएका कारण दुबै परियोजनाको विद्युत् उत्पादन अनुमतिका लागि पेश गरिएको निवेदन हाल विभागमा विचाराधीन छ ।
विभागमा विचाराधीन निवेदनमा कुनै हेरफेर भएको अवस्था नभएको अधिकारीले बताए । दुबै परियोजना निर्माणका लागि ६४ करोड ९० लाख अमेरिकी डलर लाग्ने अनुमान छ । परियोजना सम्पन्न भएमा यसले वार्षिक रुपमा १ हजार ७ सय २३ दशमलव ४३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । त्यसमध्ये वार्षिक रुपमा १ हजार ६ सय ९७ दशमलव ५८ गिगावाट घण्टा विद्युत् विक्री गर्न सकिने कम्पनीको दाबी छ ।
कम्पनीको नाममा रहेका कुल ५ लाख ७० हजार कित्ता शेयर काठमाडौं ठेगाना उल्लेख गरिएका विभिन्न छ जनाको नाममा रहेको छ । त्यसमध्ये ३ लाख कित्ता हरिचन्द्र शाहको नाममा रहेको छ भने १५ हजार कित्ता शेयर मल्लिका शाहको नाममा छ । त्यस्तै, लोकबहादुर पुनको नाममा ३५ हजार कित्ता, प्रतिमा शाहको नाममा १ लाख ३० हजार कित्ता, हेमराज भट्टको नाममा ६५ हजार कित्ता र आश्मा शाहको नाममा २ लाख ५० हजार कित्ता रहेको छ ।

प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *