बद्री पन्त
जाजरकोट १५, असोज
जाजरकोट भेरीमालिका नगरपालिका ५ भेरेका लक्ष्मण बुढाको करीब ३ रोपनी जग्गामा लगाईएको गाँजा प्रहरीले हालै नष्ट गर्यो ।
भेरीमालिका २ तिमिलेका विर्खबहादुर वलीको २ रोपनी जग्गामा अवैध रुपमा लगाईएको गाँजा खेती पनि प्रहरीले नष्ट गर्यो ।
बुढा र वलीको मात्र होईन यतिवेला प्रहरीले जिल्लाभर अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गर्ने अप्रेशन नै चलाएको छ ।
निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखी जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाईएको छ ।
अहिले सम्म जिल्लाका भेरे , राङ्गसी , कार्कीगाँउ , झाप्रा , करुवा , डाँडाँगाँउ , कल्पत लगायतका गाँउका १ सय ६७ जनाको २ सय ३० रोपनी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।
यस अघि प्रहरीले जिल्लाका खगेनकोट , रग्दा र भगवति गाँउविकास समितिमा अवैध रुपमा १ सय २५ रोपनी जग्गामा लगाईको अफिम खेती गत बैशाखमा नष्ट गरेको थियो ।
जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराको भनाई छ ।
बषौं देखी गाँजा खेती हुने र ठुलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो । प्रहरीले पनि थाह नपाए जस्तो गर्दथ्यो तर यस अघिका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दानवहादुर मल्लले अफिम खेती पुरै नष्ट गरिदिएका छन् ।
भने उनी सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएपछि निमित्तको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक बोहराले गाँजा खेती नष्ट गर्ने अभियान चलाएका छन्
२३ भदौ देखी सुरु गरिएको अवैध गाँजा खेती नष्ट गर्ने अभियान निरन्तर जारी रहेको उनले बताए ।
लागु औषधको रुपमा लिईने गाँजा र अफिम खेती गर्न तस्करले नै उक्साउने गरेको पाईएको छ ।
अफिमको त विउ र आवश्यक औजार समेत सुरुमै दिने गरिएको पाईयो प्रहरी निरीक्षक वोहराले भने गाँजा खेती गर्ने किसानलाई तस्कर र ब्यापारीले चरेस उत्पादनका लागी अग्रिम पेश्की रकम समेत दिने गरिएको पाईयो ।
यहाँको अफिम र चरेस काठमान्डौका साथै भारत हुदै विश्वका विभिन्न मुलुकमा तस्करले निर्यात गर्ने गरेको प्रहरीको भनाई छ ।
त्यसका साथै चरेस स्कुले विद्यार्थीले समेत सेवन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
स्थानियले चरेश र अफिमलाई आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागी घातक हुने प्रहरीको भनाइ छ ।
आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ ।
अफिम खेती हुन थालेको धेरै बर्ष नभएपनि गाँजा खेती भने धेरै बर्ष पहिले देखी हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको चरेस निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।
एक हजार देखी तीन हजार मिटरको उचाईं आसपासका किसानले पाखोबारीमा गाँजाखेती गर्ने गरेको प्रहरीको भनाई छ ।
प्रहरीको गस्ती टोली नजाने जंगल छेउको पाखो जग्गामा उक्त खेती हुने गरेको छ ।
अन्य खेती भन्दा आम्दानी पनि धेरै हुने र खासै मेहिनत गनु नपर्ने भएकाले यस तर्फ किसानको आर्कषण बढेको हो ।
गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने गरेको खुल्न आएको छ ।
अवैद्य चरेस कारोबारी रोक्न गाजा खेती नष्ट अभियान संचालन गरेको प्रहरी निरीक्षक सुवास भट्टले बताए बताए ।
पहिलो पटक गाँजा खेती गर्नेलाई सामान्य चेतावनी पछि छाडेको उनले बताए ।
दोस्रोपटक सोही ब्यक्तिले उक्त खेती गरेमा कानुनी कारबाही गरीने उनले बताए ।
गाँजा भदौ र असोजमा चरेस बनाउनका लागि परिपक्व हुनेगर्दछ ।
गाँजाबाट अचार खाने भाँगो समेत उत्पादन गरेर विक्री गर्ने गरिन्छ ।
यस जिल्लामा चरेसको कारोबारी बढ्न थाले पछि गाँजा खेती नष्ट गर्न जरुरी भएको निरीक्षक भट्टले बताए ।
कतिपयले भने अवैध खेती भन्ने थाह नपाएर पनि लगाउने गरेको पाईयो उनले भने । प्रहरीले आर्थिक बर्ष २०७२÷७३ मा चरेस र अफिम कारोवारमा संलग्न ९ जना विरुद्ध मुद्धा चलाएको जनाएको छ ।
ति मध्य २ जना जेलमा रहेको ४ जना तारेखमा छुटेको र ३ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।