प्रदेशस्तरीय महोत्सवमा साढे १२ करोडको व्यापार, सवा ३ लाख दर्शकले गरे अवलोकन

सुर्खेत, ८ फागुन  ।  सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवले साढे १२ करोड बढिको व्यापार गरेको छ । आयोजकका अनुसार गत माघ २६ देखि फागुन ८ गते सम्म सञ्चालित महोत्सवमा करिब १२ करोड ६५ लाखको व्यावसायिक कारोबार भएको हो ।३ लाख २५ हजार दर्शकले अवलोकन गरेको प्रचार विभाग संयोजक पूर्णदेव अधिकारीले बताए । मूल आयोजक समितिको तर्फबाट संयोजक पदमबहादुर शाहीले प्रारम्भिक आयको विवरण सुनाए । समापनमा बोल्दै संयोजक शाहीले महोत्सव सफल पार्न सहयोग गर्ने सुरक्षा निकाय, व्यापारी, उद्योगी, दर्शक, पत्रकार एवम् सहआयोजक र प्रयोजकहरु सबैलाई धन्यवाद समेत दिए । १५ दिनभित्र पूर्ण विवरण सहितको आय–व्यय प्रस्तुत गरिने संयोजक शाहीले बताए ।

महोत्सवको समापन कार्यक्रममा महोत्सवलाई सफल पार्न सहयोग गर्ने विभिन्न उपसमिति, व्यक्ति एवम् संस्थाहरुलाई सम्मान गरिएको थियो । फागुन ८ गते महोत्सवको अन्तिम दिन मात्रै करिब ३५ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको प्रचार प्रसार समितिका संयोजक अधिकारीको भनाई छ । महोत्सवमा ४ सय ४८ वटा स्टलहरु थिए । महोत्सवबाट भएको मुनाफाबाट प्रदेश नं. ६ का लागि उद्योग वाणिज्य महासंघको भवन निर्माण गर्ने कार्यमा खर्च गरिने बताइएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, सहआयोजकहरु प्रदेश नं. ६ का १० जिल्लाका उद्योग वाणिज्य संघका प्रमुख एवम् प्रतिनिधिहरु, प्रायोजकहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः ९ फाल्गुन २०७४, बुधबार ०७:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *