लेक लागेर २ जनाको मृत्यु, सयौं विरामी

बद्री पन्त
जाजरकोट १८, जेठ
यार्सागुम्बा टिप्न डोल्पाको फुलबारी पाटनमा गएका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका १, दलित आगरका १८ बर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका वडा नं.६, धुमका १८ बर्षीय रमेश चलाउनेको लेक लागेर मृत्यु भएको हो । उनीहरु दुवै जना शुक्रबार यार्सा संकलनका लागि फुलबारी पाटनमा गएका थिए । लेक लागेर सिकिस्त विरामी परेका उनीहरुलाई उपचारका लागि सेफोक्सन्डो तर्फ ल्याउदै गर्दा चलाउनेको बाटोमै र नेपालीको उपचारका क्रममा शनिवार विहान मृत्यु भएको श्री इश्वरी बक्स गुल्म सुलीगाड डोल्पाका क्याप्टेन कुमार थापाले वताउनु भएको छ । यार्सा टिप्न गएका सयौं मानिसहरु लेक लागेर विरामी परेको थापाले बताउनु भयो ।
लेक लागेर विरामी परेकालाई उपचारमा समस्या भएको भनाई छ । यार्सा टिप्न गएकालाई टाउको दुख्ने, रिंगटा आउने, ज्वरो आउने, हातखुट्टा दुख्ने, दम लाग्ने, श्वासप्रश्वास बन्द हुने लगायत समस्या भएको क्याप्टेन थापाले वताउनु भएको छ । यसबर्ष यार्सागुम्बा संकलन गर्न साविको मध्यपश्चिम क्षेत्रका १५ हजार बढी स्थानीय डोल्पाको पाटल पुगेका छन् । उनीहरुवाट करिव दुई करोड राजश्व संकलन भएको बताएको छ ।

प्रकाशित मितिः १८ जेष्ठ २०७६, शनिबार २०:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *