एकीकृत माओवादीबाट विभिन्न समूहमा विभाजित भएका माओवादी धारका पार्टीबीच आज एकता हुदैछ । १० वर्षे सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएपछि विभिन्न सैद्धान्तिक र कार्यगत असन्तुष्टि जनाउदै विभाजित भएका माध्ये क्रान्तिकारी माओवादीको रामबहादुर थापा समूह, मणि थापा समूह र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका केही नेता तथा हाल स्वतन्त्र रहेकी जयपुरी घर्ती लगायतले एकीकृत माओवादीसंग एकता गर्न लागेका हुन् ।
राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा अपरान्ह विशेष कार्यक्रमबीच पार्टी एकताको घोषणा हुने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
त्यसअघि विहान ११ बजे बस्ने संयुक्त अधिवेशनले पार्टी एकताको अन्तिम टुङ्गो लगाउदै एकीकृत दलको अन्तरिम विधान अनुमोदन गर्ने बताइएको छ । अधिवेशनमा अन्तरिम नीति कार्यक्रम पनि पेस गरिने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको पार्टी एकता संयोजन समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र क्रान्तिकारी माओवादीका नेता देव गुरुङले तयार गरेको विधान परिमार्जनसहित पारित गरिसकेको छ । एकतापछि पार्टीको केन्द्रीय समिति ५ सय ९९ सदस्यीय हुने भएको छ । केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने पार्टी एकता संयोजन समितिको तयारी छ ।
यसैबीच, आज हुने एकता प्रक्रियामा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य, नेत्रविक्रम चन्द र मातृका यादव नेतृत्वको माओवादी भने सहभागि हुने छैनन् । सैद्धान्तिक तथा वैचारिक मतभेद कायमै रहेको भन्दै उनीहरु तत्काल एकता प्रक्रियामा नआएका हुन्